
काठमाडौं, वैशाख २४ । मधेशी मोर्चाले संसद बैठक बहिष्कार गरेका छन् । मधेश आन्दोलनमा उठेका माग सम्बोधनबारे सरकार गम्भीर नभएको भन्दै मोर्चामा आबद्ध दलका सांसदहरुले आजको संसद बैठक बहिष्कार गरेका छन् ।
सभामुख ओनसरी घर्तीमगरले संसद बैठक शुरु गर्नासाथ संघीय समाजवादी फोरम, तमलोपा, सदभावनालगायत गठबन्धनमा रहेका सात दलका सांसदले उभिएर विरोध जनाएका हुन् ।
उनीहरुको विरोधपछि सभामुखबाट बोल्न समय पाएका संघीय समाजवादी फोरमका नेता अशोक राईले आन्दोलनरत दलले उठाएका मागमा सरकार मौन रहेकाले आजको संसदको कारबाहीमा आफ्नो पार्टीसहित सबै आन्दोलनरत दलले बहिष्कार गरेको घोषणा गरेको जनाए ।
संविधानका प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रेका ५८ जना नागरिकलाई सरकारले गोली चलाएर हत्या गरेको आरोप राईले लगाए ।
आन्दोलनकारीमाथि झूठा मुद्दा लगाइएको, घाइतेको उपचार नगरिएको जस्ता आरोप लगाएँदै उनले भूकम्प पीडितको अवस्था झनै दयनीय रहेको उल्लेख गरे । वर्षा र जाडोबाट बचेका पीडितको पाल हावाहुरीले उडाएर बेहाल हुँदा पनि सरकार मौन बसेको उनको आरोप थियो ।
सरकार भ्रष्टाचार र कालोबजारीप्रति मूकदर्शक बनेको पनि उनको आक्षेप थियो ।
प्रतिक्रिया दिनुहोस्