६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जागिर खाने मानसिकता छाडेर उद्योग क्षेत्रमा लाग्नोस् : मन्त्री पाण्डे


0
Shares

काठमाडौं, वैशाख २३ । हस्तकला व्यापार मेला तथा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।

नेपाल हस्तकला महासंघको आयोजनामा भएको हस्तकला मेलाको विहीबार उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री पाण्डेले अर्थतन्त्र सुदृढीकरणमा नेपाली हस्तकलाको ठूलो भूमिका रहेको बताए ।

उनले आर्थिक विकासका लागि स्रोत र साधनको उपयोगमा जोड दिँदै जागिर खाने मानसिकता छाडेर उद्योग क्षेत्रमा लाग्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नयाँ पुस्तालाई हस्तकला व्यवसाय सिकाउनुपर्नेमा जोड दिए । हस्तकला व्यवसायले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य नेपाली मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कला–कृतिको जगेर्ना गर्ने उद्देश्यले हस्तकला प्रदर्शनी गर्दै आएको बताए ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती र ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बाँसका सामानलगायत प्रदर्शनीमा राखिएका छन् ।

मेलामा बंगलादेश, भुटान, भारत, चीन, जापानलगायतका देशमा उत्पादित वस्तुका करिब १ सय ८० ओटा अवलोकनकक्ष राखिएका छन् ।

तीन लाखजनाले अवलोकन गर्ने अनुमान गरिएको मेलामा १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ ।

हाल अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारतलगायत ८० भन्दा बढी मुलुकमा ५० भन्दा बढी हस्तकलाका वस्तु निर्यात् हुँदै आएको महासंघले जनाएको छ ।