
काठमाडौं, वैशाख २३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेट ल्याउने समय भएकाले सरकार परिवर्तन नगर्ने बताएका छन् ।
कार्लमाक्र्सको १९८औं जन्मजयन्तीका अवसरमा विहीबार राजधानीमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन अबको बाटो’ विषयको अन्तरक्रियामा उनले वामपन्थी पार्टीबीचको एकता आजको आवश्यकता भएको बताए ।
नयाँ सरकारको नेतृत्व लिन नेपाली कांग्रेसले आफ्नो पार्टीलाई गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दैमा समस्या समाधान हुने अवस्था नरहेको टिप्पणी गरे ।
उनले भने–‘अन्य दल राष्ट्रिय सहमतिमा नआउने अवस्थामा पद र नेतृत्वको लोभ गर्दैै सरकारमा जानु अहिले उपयुक्त समय मैले देखिनँ ।’
अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेस र मधेसकेन्द्रित दलसँगको छलफललाई आफूले निरन्तरता दिइरहेको जानकारी दिए ।
वामपन्थी दलले विभाजित भएरभन्दा आफ्ना कमी–कमजोरीबाट शिक्षा लिन जरुरीमा रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
उनले संविधान लेखनकाबेला त्यसलाई रोक्न खोज्नेले अहिलेपनि संविधान कार्यान्वयन रोक्न खोजीरहेकाले संविधान पक्षधर एक हुनुको विकल्प नरहेको बताए ।
अध्यक्ष दाहालले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्छन् कि बढ्दैनन् भनेर जनताले हेरिरहेको टिप्पणी गरे । उनले सबै कम्युनिस्लाई एक ठाउँमा ल्याएर शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताए ।
अर्को प्रसंगमा कार्लमाक्र्सले शोषण र शासन गर्नु अधिकार होइन विद्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई स्थापित गरेको दाबी गर्दै अध्यक्ष दाहालले माक्र्सको योगदानको प्रयोग, रक्षा र विकास गर्दै लैजान आवश्यक रहेकामा जोड दिए ।
नेकपा संयुक्तका अध्यक्ष गणेश साहले माक्र्सको जीवशैलीबाट थोरैमात्र शिक्षा लिएर अगाडि बढे कम्युनिष्ट आन्दोलनका धेरै विकृति हट्ने बताए ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा माक्र्सका विचारलाई कसरी समृद्ध गर्दै लैजाने भन्ने बहस आवश्यक रहेको टिप्पणी गरे ।
एमाओवादीका पोलिटब्युरो सदस्य राम कार्कीले माक्र्सवाद सफल कि असफल भन्ने बहस चलिरहे पनि कुन माक्र्सवाद असफल भयो भन्ने कसैले भन्न नसकेको बताए ।
उपमहासचिव भुसालको संयोजकत्वमा र नेता कार्कीको सहसंयोजकत्वमा माक्र्सको द्विशतवार्षिकी समारोह मनाउन राष्ट्रियभेला आयोजक समिति गठन गरिएको कार्यक्रममा जानकारी दिइयो । रासस
प्रतिक्रिया दिनुहोस्