
काठमाडौं, बैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सहमतीय सरकारको विकल्प नभएको बताएका छन् ।
बीपी चिन्तन प्रतिष्ठानको दोस्रो राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन गर्नु सबैको कार्यभार भएको भन्दै सबै दल एकजुट हुनुपर्ने बताए ।
त्यसका लागि सहमतीय सरकार गठन गर्नुपर्ने उनको भनाइ थियो । सभापति देउवाले राजनीतिक अस्थिरताका कारण मुुलुकले निकास पाउन नसकेको समेत बताए ।
सभापति देउवाले बीपी कोइरालाको बिचारबाट अगाडि बढ्न सके मुलुकले निकास पाउने दाबी गरे । उनले अहिलेको अवस्थामा बीपीले अघि सारेको राजनीतिक मेलमिलापको नीति अन्त्यन्तै सान्दर्भिक रहेको बताए ।
एमालेका नेता माधवकुमार नेपालले पनि राजनीतिक अस्थिरताका कारण मुलक संकटमा परेको भन्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।
नेता नेपालले आफ्नो स्वार्थ अनुकुल सरकार बनाउने र गिराउने खेलले मुलकमा थप संकट उत्पन्न भएको भन्दै गम्भीर हुन नेताहरुलाई आग्रह गरे ।
नेता नेपालले पनि बिपी कोइरालाको मेलमिलापको नीति अहिलेको अवस्थामा सान्दर्भिक भएको बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले विपी कोइराला कुनै एक पार्टीको मात्र नेता नभई सबैको साझा नेता भएकाले उनको विचारबाट सबै राजनीतिक दललाई अगाडि बढ्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्