१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


संसदमा सरकार परिवर्तनको विषय प्राथमिकतामा, कसले के भने ?


0
Shares

काठमाडौं, वैशाख २३ । व्यवस्थापिका संसद्मा सरकार परिवर्तनको विषयले प्राथमिकता पाएको छ । संसद् भवन नयाँबानेश्वरमा आज बसेको बैठकमा सांसदहरुले सरकारको आलोचना र बचाउमै समय खर्चिएका छन् ।

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कुनै औचित्य नभएको बताए । उनले ओली नेतृत्वको सरकारले केही काम गर्न नसकेको आरोप लगाउँदै सरकार परिवर्तनको विकल्प नभएको बताए ।

प्रतिपक्षी दल सालिन हुँदा पनि जनतालाई राहत दिनेलगायतका काम सरकारले गर्न नसकेको उनको आरोप थियो ।

नेकपा एमालेका सांसद युवराज ज्ञवालीले सरकारले जनताका पक्षमा धेरै काम गरिरहेको दाबी गरे । उनले सरकार फेर्ने कसरतमा नलाग्न आग्रह गर्दै जुनसुकै सरकार गठन भए पनि ६ महिनाभन्दा लामो समय टिक्न नदिने प्रवृत्तिले मुलुकलाई अगाडि बढाउन नसकिने जिकिर गरे ।

सरकार परिवर्तनको खेल चलिरहे संविधान कार्यान्वयनमा समेत चुनौती थपिने उनको भनाइ थियो ।

एकीकृत नेकपा माओवादीका सांसद जनार्दन शर्माले सरकारको कडा आलोचना गरे । सरकार गठन भएको लामो समय बितिसक्दा पनि कुनै काम गर्न नसकेको आरोप लगाउँदै उनले भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयनलगायतका विषयलाई अघि बढाउन सहमतीय सरकार गठनको विकल्प नभएको बताए । आफूहरु सहमतीय सरकार गठनको पक्षमा रहेको उनको भनाई थियो ।

संसद्मा बोल्ने अधिकांश सांसदहरुले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप लगाएका छन् । केही सांसदले भने सरकार परिवर्तनले मात्र मुलुक परिवर्तन गर्न नसकिने भन्दै वर्तमान सरकारलाई नै निरन्तरता दिएर सहमतीय राजनीतिक संस्कारको विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।