२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


त्यसो भए समाप्त हुन्छ त पृथ्वीमा जीवन ! कुन ग्रहमा छ जीवनको सम्भावना ?


0
Shares

काठमाडौं । पृथ्वीमा जीवन छ किनभने जीवन अनुकुल वायुमण्डल छ अनि पानी पनि छ । जीवनको लागि वायुमण्डल हुनु जरुरी छ । लामो समयदेखि मानिसले पृथ्वीबाहेक ब्रम्हाण्डका अन्य स्थानमा समेत जीवन भएको हुन सक्ने अनुमान गर्दै आएका छन् ।

१९ औं शताब्दीमा खगोलशास्त्रीहरुले पनि चन्द्रमामा बुद्धिमान प्राणीहरु हुनुपर्छ भन्ने सोच राखेका थिए । तर पछि भएका वैज्ञानिक अनुसन्धानहरुमा चन्द्रमामा बुद्धिमान प्राणी त के, कुनै पनि जीव छैन भन्ने भन्ने पत्ता लाग्यो । चन्द्रमामा वायुमण्डल नै छैन र पानी पनि छैन भन्ने प्रमाणित नै भयो ।

त्यति हुँदा हुँदै पनि एपोलो अन्तरिक्ष अभियानबाट चन्द्रमामा पुगी पृथ्वी फर्केका अन्तरिक्षयात्रीहरुलाई केही समयसम्म सुरक्षित क्षेत्रमा राखिएको थियो ताकि उनीहरुका साथमा अन्तरिक्षबाट कुनै खतरनाक जीवाणुहरु पनि आए नआएको निर्क्यौल गर्न सकियोस् ।

चन्द्रमामा जीवनको चिन्ह नभेटे पनि वैज्ञानिकहरु निराश भएका छैनन् । उनीहरुको पक्का विश्वास छ, ब्रम्हाण्डमा कुनै न कुनै क्षेत्रमा जीवन छ र त्यो जीवन हाम्रो जस्तो वा हाम्रोभन्दा पनि उन्नत हुन सम्भव छ । अझ वैज्ञानिकहरु त कतिसम्म विश्वास गर्छन् भने हाम्रै सौर्यमण्डलमा पनि पृथ्वीको जीवनको शुरुवातकालको जस्तो जीवन रहेको हुन सम्भव छ ।

यद्यपी अहिलेसम्म यसबारेमा कुनै ठोस प्रमाण र तथ्यहरु हासिल हुन सकेका छैनन् । सोही विश्वासको आधारमा वैज्ञानिकहरु निरन्तर रुपमा अध्ययन अनुसन्धानमा लागेका छन् । यसै क्रममा पृथ्वी बाहिर समेत जीवन हुन सक्ने एउटा सम्भाब्य स्थानको रुपमा हाम्रै सौर्यमण्डलको एक विशाल ग्रह शनिको उपग्रह टाइटन र बृहस्पतिको उपग्रह युरोपामाथि वैज्ञानिकहरुको दृष्टि परेको छ । ती मध्ये पनि बढी सम्भावनायुक्त रुपमा टाइटनलाई लिईएको छ ।

वैज्ञानिकहरुले टाइटनमा जीवनको सम्भावना देख्नुको प्रमुख कारण चाहिँ त्यहाँ पृथ्वीमा जीवनको शुरुवातमा रहेको जस्तो वायुमण्डल हुनु नै हो । त्यहाँ पृथ्वीमा अहिले विद्यमान रहेको जस्तो बिस्तृत र विकसित जीवनको सम्भावना न्युन छ । किनकि पृथ्वीको वर्तमान वायुमण्डल जस्तो प्रकृतिको वायुमण्डल हाल त्यहाँ विकसित भइसकेको छैन । तर वैज्ञानिकरुहरुको विश्वास छ कि पक्कै पनि टाइटनमा जीवन कुनै न कुनै रुपमा रहेको हुनुपर्छ । त्यहाँको जीवन हाम्रो पृथ्वीको जस्तो विकसित रुपमा नहुन सक्छ तर त्यहाँ ब्याक्टेरिया लगायत अति सुक्ष्म जीव जीवाणुको रुपमा जीवनको अस्तित्व पक्कै हुनुपर्छ ।

वर्तमान अवस्थामा टाइटनको वायुमण्डल पृथ्वीको हालको वायुमण्डल भन्दा नितान्त भिन्न छ । तर वैज्ञानिकहरुको विश्लेषणमा सृष्टिको प्रारम्भिक कालमा पृथ्वीमा रहेको र टाइटनको हालको वायुमण्डलको स्वरुप एकै किसिमको रहेको हुनुपर्छ । अझ पृथ्वीमा जीवको उत्पति हुँदा पनि पृथ्वी र टाइटनको वायुमण्डलमा खासै भिन्नता नरहेको वैज्ञानिकहरु बताउँछन् ।

टाइटनलाई सुन्तला रङको बाक्लो बादलले ढाकेको वैज्ञानिकरुहरुले बताएका छन् । यसको वायुमण्डल पृथ्वीको भन्दा दश गुना बढी बाक्लो छ । यस्तो बाक्लो वायुमण्डल भएको अहिलेसम्म थाहा भएकोमा सौर्यमण्डलभित्र यही एउटामात्र उपग्रह रहेको छ । बाक्लो सुन्तला रङको बादलले ढाकिएका कारण टाइटनको सतहमा के छ भन्ने थाहा पाउन त्यहाँ नै गई अनुसन्धान गर्नुको विकल्प छैन भन्छन् वैज्ञानिकहरु 

पृथ्वीको जस्तो जीवको अस्तित्वको लागि भने टाइटन अहिले अत्यधिक चिसोको कारण अनुपयुक्त छ तर भविष्यमा यो अवस्था फेरिन पनि सक्छ भन्ने कुरामा वैज्ञानिकहरु आशावादी छन् । उनीहरुले के कुरा प्रमाणित गरिसकेका छन् भने हरेक ब्रम्हाण्डीय पिण्डहरुको निश्चित आयु हुन्छ र उर्जा सकिंदै गएपछि हरेकको अस्तित्व पनि समाप्त हुँदै जान्छ ।

हाम्रो सूर्यको पनि आयु निश्चित रहेको कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । सूर्यमा रहेको उर्जा सकिंदै जाने क्रममा अरबौं वर्ष पछाडि सुर्यको आकार अहिलेको भन्दा ५० गुना ठूलो हुने र रातो तारामा परिणत हुने भविष्यवाणी वैज्ञानिहरुले गरेका छन् । उनीहरुको गणनामा त्यसबेलामा पृथ्वीको सतहको तापक्रम अति नै बढ्नेछ । जसले गर्दा यहाँको जीवको अस्तित्व नै समाप्त हुनेछ । तर ठीक त्यही समयमा नै टाइटनको तापक्रम भने जीवनका लागि अनुकुल हुनेछ । (एजेन्सी)