८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सार्थक गणतन्त्रका पक्षमा


0
Shares

पेशल आचार्य
– मुलुकभरि चरम खडेरी र डढेलोका खबरहरू तारन्तार आइरहेका छन् । सरकारको भूकम्प पुनर्निमाणको गति र ऋण प्रवाहका कार्यहरू कछुवा तालमा गइरहेको छ । पछिल्लोपटक गाउँमा गएर प्रविधिमैत्री तबरले इन्जिनियरहरूबाट गरिएको भूकम्पपीडितको डाटा संकलनमा व्यापक धाँधली भएका र धेरै पीडितका घर तथ्याङ्कमा छुटेका खबरहरू आइरहेका छन् । प्रविधिले दिएको धोका हो वा गाउँघर मै बापवैरी साँध्ने कुचक्र चलेको हो केही थाहा भएको छैन । सोधखोज गर्दा कसैले पनि चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

– कांग्रेसमा शेरबहादुर देउवा सभापति भए भने आकासै झर्छजस्तो गर्थे कांग्रेसीहरू तर त्यहाँ पनि उनी सभापति भएको करिब दुई महिना पुग्नै लाग्यो । संसदीय दलको नेता चुनिए पनि खै ! रौनक देखिदैन । सरकार अटेरी र प्रतिपक्ष एक प्रकारले सुस्त देखिएका छन् । यस्तोमा राहतका कार्यमा सरकारलाई झक्झक्याउने कोही नहोलान् जस्तो देखियो ।

– अख्तियारले कनकमणि दीक्षितका सन्दर्भमा गरेको कारवाही पनि पानीको फोका सावित हुने छाँट देखियो । अहिले अख्तियार आफैँ अख्तियारद्वारा खोजीको विषय भएको छ । ऊ मत्ता हात्ती झैँ आफूलाई मन लागेको गरिरहेछ । जनताका मनमा बस्न सक्ने कुनै काम ऊबाट भएका सुनिएका छैनन् ।

– बजार कालो अवस्थामै चलिरहेको छ । पावर हुनेले सबैचिज पाएका छन् । नहुने अझै ग्यासका लाइनमा बसिरहेका छन् । मधेश रिसाएको सर्पझैँ दाउ खोजिरहेछ । नेपाली कूटनीतिक क्षेत्रले भारतलाई विश्व मञ्चमा लगेर दह्रोसँग माफी मगाएको सुनिएन । भारतीय विश्लेषक तथा भूपू सैनिक प्रमुख अशोक मेहताले लेखमार्फत् नै ‘भारतले नेपालसँग माफी माग्नु पर्छ’ भने तर कसैले सुनेनन् ।

– पानीको हाहाकार छ । देशैभरि पानीका मुहान सुकेका छन् । हुँदाहुँदा अब बाह्रै महिना हिमालबाट बग्ने नदी र प्रख्यात तालहरू सुकेका समाचार आएका छन् । खप्तड ताल सुकेको समाचारले सहृदयीलाई नराम्रो लागेको छ ।

– भूकम्पबाट सात खर्ब र नाकाबन्दीबाट बाह्र खर्ब नोक्सानी भएको डाटा आएको छ । त्यसको क्षतिपूर्ति के–कसरी गर्ने अत्तोपत्तो छैन । व्यापार, व्यावसाय, उद्योगधन्दा सबै चौपट छन् । प्रतिपक्षमा बस्दा तित्राझैँ गरी कराउने साना–ठूला दम्भ पालेका कम्युनिष्ट नेताहरू सत्ताको तर मारेर बस्दा जनताका पक्षमा चुँसम्म बोलेका छैनन् । एक प्रकारले नेपाली राजनीतिमा सबैको राजनीतिक इस्यु सकिएको जस्तो देखिएको छ ।

– सरकारबाट किसान, विद्यार्थी, न्यून बेतनभोगी कर्मचारी, शिक्षक, प्राध्यापक, सेना, पुलिसमैत्री नयाँ कार्यक्रमहरू केही आएनन् । ओली न नयाँ काम गर्न सक्ने स्थितिमा रहे । न आसा सञ्चारमा सक्रिय भए । उनको उखानको बजार क्रमशः ओरालो लाग्दैछ । आयातमुखी अर्थतन्त्रको चाङमा सायद् सरकार बजेट बनाउँदैछ ।

– नेपालीहरू गणतन्त्रको माखे साङ्लोमा नराम्ररी रुमल्लिएका छन् । ‘यता पनि भीर उता पनि भीर कोसँग पोखौं मनको पीर’ स्थितिमा नेपाली अल्मलिएको अवस्था विद्यमान छ । हालै भएको राजदूत नियुक्तिले सरकारले प्रतिपक्षलाई ठाडै अस्विकार गरेको छ । आलाकाँचा र अनुभवहीन कार्यकर्ताहरू सरकारले राजदूतमा पठाएको समाचार छ । योग्य र सक्षमलाई काम गर्ने मौका दिइएको छैन । दिइने संस्कार पनि आएन ।

– ऊर्जा भएका युवालाई विदेश पठाएर सरकार दंग परेको छ । रगत र पसिना पेलेर पठाएको रेमिट्यान्समा दाइँ गर्ने बजेट बनाएर यहाँ गणतन्त्रका लाउके र टाउकेहरू विश्व राजनीतिको फाँटमा आफूलाई पक्का गणतन्त्रको पक्षपाती भएको देखाउन लागि परेका छन् । तर विश्व हाम्रो गति र गराँस देखेर खित्खिताएर हाँसिरहेको छ । नेपालीले देखाउन कै मात्र गणतन्त्र ल्याएकाजस्ता छन् । देखाउनका लागि हामीसँग संसद छ, अदालत छ, अख्तियार छ, प्रतिपक्ष छ, सरकार छ । अझ महिलामैत्री शासनको दृश्य परिदृश्य देखिएको छ । प्रमुख पदहरूमा तीनतीन स्थानमा महिला चुनिएका वा तोकिएका छन् । समावेशीताको सुन्दर पक्ष देखाउनकै लागि सही देखिएको छ तर जबजब कि पोष्टमा महिलाहरूको बर्चश्व बढेका बेला भने देशैभरि महिला हिंसाका खबरमा बढोत्तरी भएको छ । उजाड र अविकसित दूर दराजका गाउँगाउँमा आधुनिक विकासका सुविधा साथै न्याय र समानता पुर्‍याउने चेष्टा कुनै राजनीतिक दलबाट पनि भएको देखिएन् । ताज्जुबको विषय यो छ कि नेपालमा कुनै दलले पनि नेपाल विकासको फाष्ट मोडल प्रस्तुत गर्न सकेका छैनन् । सबै दलमा घोडे बुद्धिजीवी र पार्टीका लेखक (खेलक ?) हरूको चरम हालीमुहाली देखिन्छ ।

– प्रमुख दैनिक अखबारमा गाउँ रित्ता भएका समाचार लगातार आएका छन् । नेपालका गाउँ यस्तै हुने हो भने केही वर्षमा खण्डहरमा परिणत हुने पक्कापक्की भैसके । गाउँमा बाँझो खेत छोडेर काम गर्ने सक्ने मानिस जिल्लाका सदरमुकाममा बसेका छन् । अझ कमाइ गर्न सक्नेहरू देशै छोडेर विदेश बत्तिएका छन् ।

– सेल्फी संस्कृति सबै क्षेत्रमा हावी भएको छ । राम्रो मान्छे भन्दा हाम्रो मान्छे लिने संस्कृतिले यो कुचलनलाई बढावा दिएको छ । फेसबुक, म्यासेन्जर र भाइबर पनि नभएको भए नेपाली समाज अहिले फेरि अर्को विद्रोहको गुलुप झुलाउन तम्तयार भैसक्ने थियो । धन्न मार्क जुकरबर्ग तिमीले नेपाली समाजको भविष्यगामी क्रान्तिलाई रोक्नैका लागि यो उधुम फेसबुके सञ्चारको थालनी गरेका रै’छौ ।

– नेपाली अर्थतन्त्र तङ्रिन अझै केही वर्ष लाग्ने देखियो । सरकारी रबैयालाई हेर्दा निजी क्षेत्र पनि अब निराशा साँध्न बाध्य छन् । निजी क्षेत्रमा केही तरक्की नभएको होइन तर सरकारी प्रक्रियाका उल्झनमा अल्झेर केही गरौं, देशका लागि योगदान दिऔं भन्ने योग्य युवाहरू विदेश पलायन भएका छन् ।

– कुनै पनि क्षेत्रमा मानकता भन्ने कुरा अब रहेन । भाषालाई नयाँ ठिमाहा बुद्धिजीवीहरू पात्ताल भसाएका छन् । एकातिर लेखन र अर्कोतिर वर्णविन्यासको छेसाहा पारा देख्दा अलिअलि पढेलेखेका मानिसहरू रुन मात्र सकिरहेका छैनन् । विद्यार्थी पढ्न, लेख्न र चिन्तन मननमा भन्दा पनि माउ राजनीतिक पार्टीका दलगिरी गरेर पद र पैसा झार्नमै व्यस्त र मस्त छन् । एक प्रकारले भन्ने हो भने देशमै भ्याकुम देखिएको छ । यो स्थिति यही पारामा अगाडि गयो भने यसले नेपाली समाजलाई जस्तोसुकै राम्रो भनिएको शासन व्यवस्था अख्तियार गरेका अवस्थामा पनि राम्रो पक्कै गर्दैन ।

– अहिलेको समूल चिन्ता र चासो भनेको यही हो ।