५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


किन गरियो क्यानडेली नागरिक पेन्नरको प्रवेशाज्ञा खारेज ?


0
Shares

काठमाडौं, वैशाख २१ । नेपालका विषयमा सामाजिक सञ्जालमार्फत् अनावश्यक टिप्पणी गर्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृह मन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ ।

ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

क्यानडेली नागरिक पेन्नरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले राससलाई जानकारी दिए ।

प्रवक्ता कोइरालाले भने–‘प्रवेशाज्ञा खारेज भएपछि टिकट पाए आजै उनी स्वदेश फर्किनुपर्छ नपाए दुई दिनभित्र उनी फर्किनैपर्ने व्यवस्था छ ।’

क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत् नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि सोमबार पक्राउ गरिएको थियो ।

उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन/चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएका थिए ।

उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम–कारबाहीका विषयमासमेत सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दै आएका थिए ।

कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोहीअनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुन उल्लंघन गरेको मानिन्छ । रासस