
काठमाडौं, वैशाख २० । पाशुपत क्षेत्रमा नाङ्लो पसलमा गाँजा बिक्री गर्ने महिला समूह पक्राउ परेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले विगत अढाइ वर्षदेखि दुर्व्यसनीलाई गाँजा विक्री गर्दै आएको पाइन्छ ।
महानगरीय प्रहरी बृत्त गौशालाले पाशुपत क्षेत्रमा गाँजाका दुर्व्यसनी बढेको गुनासो आएपछि सुक्ष्म ढंगले अनुसन्धान गरेको थियो । सोही क्रममा गत बुधबार वनकालीबाट एक किलो ४९ ग्राम गाँजासहित पार्वती दाहाल पक्राउ परेकी हुन् ।
दोलखा मैनापोखरी घर भएर गौशालामा डेरा गरी बस्दै आएकी दाहालले अढाई वर्षदेखि वनकालीमा नाङ्लो पसल गर्दै आएकी थिइन् । आवरण नाङ्लो पसल गरे पनि उनले गोप्य रुपमा दुर्व्यसनीलाई गाँजा बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
दाहालपछि नुवाकोट ककनी घर भई भक्तपुर ठिमीमा डेरा गरी बस्दै आएकी लालमाया गुरुङ पनि पक्राउ परिन् । प्रहरीका अनुसार गुरुङ नाङ्लोपसलेहरुलाई गाँजा सप्लाई गर्नेमध्येकी एक हुन् ।
त्यसैगरी सिरहा विष्णुपुरकट्टी घर भएर सिनामंगल विजयचोकमा डेरा गरी बस्दै आएकी काली भनिने सरिता यादव पनि वनकालीमा नाङ्लो पसलबाट गाँजा बिक्री गर्दै आएको रहस्य त्यतिबेला खुल्यो, गुरुङ र अधिकारीले प्रहरीमा यादवको भेद खोलिदिए ।
प्रहरीले अनुसन्धानका क्रममा यादवको डेरा खानतलास गर्दा सातकिलो गाँजा फेला पार्यो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्