
-रविन भट्टराई, ईमेज
ताप्लेजुङ, बैशाख १९ । बाह्रै महिना निरन्तर झरिरहने ताप्लेजुङको सावामा रहेको फुङ्फुङगे झर्नाको प्रचार प्रसार र यस क्षेत्रको विकास हुन नसक्दा ओझेलमा परेको छ ।
धार्मिक तथा पर्यटकिय महत्व बोकेको यस झर्नाको हालसम्म न उचाई नै नापिएको छ, नत यस क्षेत्रको विकास निर्माणमा चासो नै राखिएको छ ।
पर्यटकिय तथा धार्मिक महत्व बोकेको ताप्लेजुङको सावा गाउं विकास समिति वडा नम्बर २ मा रहेको फुङफुङगे झर्ना जिल्लाकै सवैभन्दा आकर्षक र लामो झर्ना भए पनि विकास तथा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
बाह्रै महिना पानी सहित फुङ्फुङ् गरी झर्ने भएकाले यस झर्नालाई फुङ्फुङगे झर्ना भनिएको स्थानिय वाङ्गे शेर्पा बताउँछन् । फुङ्फुङगे झर्नालाई स्थानीयले देवीको रुपमा समेत पूजा गर्ने गरेका छन् ।
केही आन्तरिक पर्यटक यहां पुग्ने गरेपनि बाह्रय पर्यटकको संख्या भने शून्य जस्तै छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि प्रचारप्रसार, बाटो र पर्यटकका लागि बस्ने उचित ठाउंको व्यवस्था नहुंदा झरना ओझेलमा परेको पर्यटन व्यवसायी हर्कराज गुरुङ बताउँछन् ।
३ सय ५९ मिटर लम्वाई भएको तेह्थुमको ह्यातुङग झर्नालाई नेपालकै सवैभन्दा लामो झर्ना भनिए पनि फुङफुङगे झर्नाको भने हालसम्म लम्वाई नापिएको छैन । यो झर्ना हेर्दा ह्यातुङग भर्ना बराबरको नै देखिने स्थानिय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्