४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘बाध्यता’ भन्दै कोरिया जान भाषा परीक्षा फारम भर्नेको भीड


0
Shares

काठमाडौं, वैशाख १८ । रोजगारीका लागि कोरिया जान हजारौंले रोजगारी अनुमति प्रणाली (इपीएस)अन्तर्गत्को भाषा परीक्षाको आवेदन फारम भरेका छन् ।

फारम भर्ने अन्तिम दिन शनिबार पनि राजधानीका विभिन्न स्थानमा कोरिया जान चाहनेहरुको भीड लागेको थियो ।

नेपालमा विभिन्न पेशा–व्यवसाय गरी बसेका एवं उच्चशिक्षा हासिल गरेका युवाहरु पनि कोरिया जान प्रयासरत् छन् ।

फाराम भर्नेक्रममा नेपालमै रोजगारीमा रहेका अर्घाखाँचीका भेषराज खनालले यहाँको कमाइले नपुग्ने भन्दै विदेश जानु आफ्नो बाध्यता भएको हामीसँग बताए ।

स्नातकोत्तर अध्ययनरत् भुवन गुरुङले नेपालमा पढे–लेखेका व्यक्तिहरुका लागि कुनै अवसर नभएको एवं राज्यलेसमेत केही सेवा–सुविधा दिन नसकेको अवस्थामा कोरिया जानु नै उपयुक्त लागेको बताए ।

यस्तै, स्नातकमा अध्ययनरत् दावा शेर्पाले राजनीतिक अस्थिरताका कारण देशमा बेरोजगारी बढेको भन्दै विदेशमा जानु आफ्नो बाध्यता भएको उल्लेख गरे ।

सरकारले देशमै रोजगारीको अवसर सिर्जना गरे विदेश जानुपर्ने आवश्यकता नै नपर्ने कोरिया जान प्रयासरत् अधिकांश युवाहरुको भनाइ छ ।