
गौशाला, वैशाख १८ । महोत्तरी जिल्लालाई मदिरा रहित जिल्ला बनाउने अभियानअन्तर्गत प्रहरीले अवैधरुपमा सञ्चालित २१ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ ।
अवैध भट्टीबाट उत्पादित १२ हजार २३५ लिटर कच्चा पदार्थ, एक हजार ९८० लिटर तयारी मदिरा प्रहरीले नष्ट गरेको हो । यस्तै ९३ वटा मदिरा भण्डारण गर्ने ड्रम, १६ वटा मेसिन, ग्यालेनलगायतका विभिन्न सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
घरेलु मदिराका कारण पनि जिल्लामा आपराधिक क्रियाकलाप बढेकाले त्यसलाई नियन्त्रण गर्न अवैध घरेलु भट्टी नियन्त्रण गर्ने अभियान सुरु गरिएको उनले बताए ।
जलेश्वर नगरपालिका क्षेत्रको विभिन्न वडा र मटिहानी, भ्रमरपुरा सितापुर भंगहा, पडौल महदैयातपनपुर, रामगोपालपुर, धिरापुर, मझौराविसनपुर लगायतका गाविसमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट भएका छन् ।
ती भट्टीबाट मदिरा उत्पादन तथा सञ्चालनका लागि प्रयोग गरिने टिन र प्लास्टिक ड्रम, ग्यास चुलो मदिरा चुहाउने मेसिनलगायत सामान नियन्त्रणमा लिइएको छ ।
नष्ट गरिएका सो परिमाणको मदिरा बेवारिसे अवस्थामा पक्राउ गरिएकाले उत्पादन गर्ने र बिक्री वितरण गर्ने अझै कानुनी दायरामा ल्याउन सकिएको छैन ।
सस्तो हुने र चाँडै नशा दिने हुनाले भारतबाट समेत मानिस सेवन गर्नै आउने गरेको पाइएको छ । छिमेकी जिल्ला तथा दसगजा नजिक भारतीय गाउँमा उत्पादन हुने घरेलु मदिरा महात्ततरी प्रहरीको टाउको दुखाइ बन्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्