५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नाका खोल्नेबित्तिकै तातोपानीबाट सुन तस्करी


0
Shares

काठमाडौं, बैशाख १८ । बाह्रबिसे इलाका प्रहरीले १८ किलो सुनसहित शुक्रबार तातोपानीका साङ्बो शेर्पा, मिङ्मार शेर्पा र मेलम्ची नगरपालिकाका विमला थापालाई पक्राउ गरेको छ ।

तातोपानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा।९च १४६३ नम्बरको कालो फोर्ड कारको डिकीबाट प्रहरीले सुन बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक राजु पाण्डेको नेतृत्वको टोलीले शुक्रबार अपराह्न साढे चार बजे सुन बरामद गरेको हो। बरामद सुन भन्सारलाई बुझाउने र पक्राउ परेकामाथि थप अनुसन्धान गरिने पाण्डेले बताए ।

खासा गोदाममा थन्किएका नेपाली व्यापारीको सामान ल्याउन चीन सरकारले केही दिनका लागि नाका खुला गरेको मौका छोपेर तस्करले सुन ल्याएको प्रहरीको अनुमान छ ।

भूकम्पअघि नै ल्हासा हुँदै आएको सुन खासामा थन्किएको र अहिले नाका खुलेको मौका छोपी चिनियाँहरूकै सहयोगमा सुन पास गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

अध्यागमन कार्यालय कोदारीका वरिष्ठ अध्यागमन अधिकृत प्रह्लाद पोखरेलले पनि गोदाममा रहेका सामान ल्याउने क्रममा तस्करले पनि सुन ल्याउने लाइन मिलाएको हुनसक्ने बताए ।

सामानको भन्सार मूल्यांकनमा सरकारी अधिकारीलाई अलमल्याएर व्यापारी र तस्करको मिलेमतोमा सुन पास गरेको हुनसक्ने उनको दाबी छ।

तातोपानीस्थित अध्यागमन कार्यालयले सामानसँग सम्बन्धित व्यापारी र लोड–अनलोड गर्ने मजदुरबाहेक कसैलाई चिनियाँ क्षेत्र प्रवेशको अनुमति दिएको छैन ।

सामान ल्याउने कन्टेनरमा सुन पास गराएर तातोपानी आएपछि तस्करले लगेको हुनसक्ने अनुमान छ । भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द छ। तर, सुन तस्करी रोकिएको छैन।
नयाँ पत्रिका दैनिकबाट