१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पूर्वराजाको भारत भ्रमणले एमाओवादीमा खैलाबैला


0
Shares

काठमाडौं, बैशाख १८ ।  पूर्वराजा ज्ञानेन्द्र शाहको आकस्मिक भारत भ्रमण मुलुकमा विद्यमान असहज परिस्थितिको उपज भएको भन्दै एमाओवादी स्थायी समिति बैठकका सहभागीले यसबारे गम्भीर हुन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । बैठकका सहभागीहरूले गठबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्षसमेत निकालेका छन् ।

संविधान कार्यान्वयन प्रक्रियामा जान नसकेको, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम सफलतासाथ अघि बढ्न नसकेकाले पूर्वराजालाई भारतले निम्त्याएको हुनसक्ने भन्दै यसबारे स्थायी समिति गम्भीर हुनुपर्ने सहभागीहरूले बताए ।

गणतन्त्रको दस वर्षमै यस्तो परिस्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको गठबन्धन सरकारको असफलता कारण रहेको अधिकांश सहभागीले बताएको स्रोतले उल्लेख गर्‍यो ।

शाहको भारत भ्रमणलाई पार्टीले बेवास्ता गर्न नहुने धारणा राख्दै एमाओवादीका एक पदाधिकारीले  भने,संविधान निर्माण, संशोधन, भारतीय नाकाबन्दीदेखि आजसम्म सरकारको नारा राष्ट्र र जनता भए पनि कार्यान्वयन शून्य हुनु नै यसको कारण हो ।

शाहको यो भारत भ्रमण गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि ठूलै चुनौती रहेकोतर्फ गम्भीर हुन र त्यसका लागि तत्कालै ठोस र प्रभावकारी कदम चाल्नसमेत बैठकले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहाललाई माग गरेको जानकारी बैठक स्रोतले दियो । शाहको भारत भ्रमणको परिस्थिति उत्पन्न हुनुमा सरकारको असफलता नै कारण रहेको दाबी स्रोतले गर्‍यो  ।
 
गठबन्धन सरकार पूर्ण रूपमा असफल रहेको अनौपचारिक निष्कर्षमा स्थायी समिति बैठक पुगेकाले सत्ताको नेतृत्व लिएको एमालेसँग आजभोलिमै परिणाममुखी वार्ता गर्ने निर्णय भएको जानकारी पार्टी महासचिव कृष्णबहादुर महराले दिए । उनले भने, यद्यपि यो सरकारको विकल्प बैठकले खोजेको छैन। एमाले नेतृत्वसँग गम्भीर र निर्णायक वार्ताको परिणाम राष्ट्र र जनताप्रति सरकारको इमानदारीमा खोजिनेछ ।
 -चिरञ्जीवी ढुंगाना, अन्नपूर्ण पोष्ट दैनिकबाट