
राजविराज, वैशाख १६ । मुस्लिम सुकुम्वासी आयोगको नामबाट सप्तरीमा सर्वसाधारणसँग रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ‘मुस्लिम सुकुम्वासी आयोगको उपाध्यक्ष हुँ’ भनी सर्वसाधारणबाट रकम ठगी गर्ने सप्तरीको दिगुवा–३ का ४५ वर्षीय तफेजुल मोहमद र सप्तरीकै डाँडा–५ का २८ वर्षीय अब्दुल रहमानलाई बुधबार पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।
उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाले सप्तरीको छुट्टाछुट्टै गाउँघरमा गई मुस्लिम सुकुम्वासी आयोगका पदाधिकारी हौं भनी कुवेतको सहयोगमा आएको योजनाबमोजिम दुई÷दुई ओटा घर, भान्साघर र शौचालय बनाइदिने भन्दै प्रत्येक व्यक्तिबाट रु दुई हजारका दरले रकम ठगी गरेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
सो ठगीमा परेका सप्तरीको कञ्चनरुप नगरपालिकासहित जिल्लाको डेढा गाविसका करिब एक दर्जन व्यक्तिले इलाका प्रहरी कार्यालयमा दुवै जनाविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्