
काठमाडौं, वैशाख १५ । व्यवस्थापिका–संसदको विकास समितिले हुलाकी राजमार्गसँगै तराईका जिल्लाहरुका सदरमुकामलाई जोड्ने बाटो बनाउन, उत्तर दक्षिणका नाकाहरु जोड्न र काठमाडौं–निजगढ ‘फास्ट ट्रयाक’ कार्य सुरु गर्नका लागि बजेटमा व्यवस्था गर्न निर्देशन दिएको छ ।
विकास समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा छलफलपछि सभापति रविन्द्र अधिकारीले यो बजेटमा सडक निर्माण परियोजनालाई ध्यान दिन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।
छलफलमा सभासदहरुले बहुवर्षीय योजनाहरुलाई विशेष ध्यान दिन र पूर्वतयारी भएका योजनाहरुलाईमात्र बजेट विनियोजन गर्न सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका थिए ।
सभासदहरुले पूर्वतयारी नै नभएका योजनाहरुका लागि बजेट छुट्याउँदा बजेटको आधा रकम पनि खर्च नहुने र विकास योजनाहरु अलपत्र पर्ने गरेको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्