
काठमाडौं, वैशाख १४ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भूकम्प, राजनीतिक संक्रमण र आपूर्ति व्यवधानको अवस्थामा पनि समष्टिगत् आर्थिक व्यवस्थापन नियन्त्रणबाहिर नगएको बताएका छन् ।
तत्कालीन व्यवधानले आर्थिक तथा वित्तीय क्षेत्रको व्यवस्थापन निकै जटिल बन्न पुगेपनि मुलुकको आर्थिक व्यवस्थापन नियन्त्रणमै रहेको उनको भनाइ छ ।
मंगलबार आयोजित केन्द्रीय बैंकको ६१औं वार्षिकोत्सवमा गभर्नर नेपालले भूकम्प र सीमानाका अवरोधले पारेको असर न्यूनीकरण गर्न स्थापना गरिएको आर्थिक पुनरुद्धार कोष कार्यान्वयनकोक्रममा रहेको बताए ।
भूकम्प प्रभावित जिल्लाहरुमा बैंकिङ सेवाको सहज उपलब्धता र पहुँच बृद्धिका लागि शाखा, शाखारहित बैैंकिङ तथा घुम्ती बैैंकिङ सेवा सन्चालन गर्न केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ ।
कार्यक्रममा बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाले पूँजी बृद्धिले कर्जा प्रवाह बढाउन बाध्यता पार्ने र कर्जामा जोखिम बढ्नसक्ने भएकाले राष्ट्र बैंक र वित्तीय संस्थाले मिलेर अगाडि बढ्नुपर्ने बताए ।
बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले केन्द्रीय बैंक, वित्तीय क्षेत्र मिलेरै वित्तीय क्षेत्रको समस्या समाधान गर्दै आएको र मिलेरै अगाडि बढ्ने बताए ।
उनले नियामक निकायमा राष्ट्र बैंक सबैभन्दा बलियो निकाय रहेको भन्दै वित्तीय स्थायित्व स्थापना गर्न राष्ट्र बैंकको साथमै रहेको बताए ।
उनले राष्ट्र बैंकको निर्देशनको ‘स्प्रीरिट’मै काम गर्न आफूहरु तयार रहेको प्रस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्