१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कांग्रेस र एमालेबीचको सहकार्यबाट मात्र मुलुकको विकास सम्भव : प्रधानमन्त्री


0
Shares

काठमाडौं, बैशाख १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यबाट मात्र मुलुकको विकास सम्भव हुने बताएका छन् ।

पुनर्निर्माणको काममा ढिलाई भएको भन्दै ज्ञापनपत्र दिन बालुवाटार पुगेका भूकम्प प्रभावित जिल्लाका नेपाली कांग्रेसका सांसदहरुसँग प्रधानमन्त्री ओलीले  दुई ठूला दलबीचको सहकार्यबाट मात्र मुलुकको विकास सम्भव हुने बताएका हुन् ।

उनले आफूले बाध्यताका कारण अहिलेको गठबन्धन सरकार बनाउनुपरेको भन्दै आफ्नो चाहना कांग्रेस र एमालेकै सरकार बनाउने भएको स्पष्ट पारे ।

संविधान जारी गर्नुअघि भएको सहमति कांग्रेसले तोडेका कारण आफ्नो चाहनाअनुसारको सरकार गठन हुन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुबीचको सहमति, सहकार्य र एकताबाट संविधान जारी भएको भन्दै आगामी दिनमा पनि सहमतिबाटै मुलुकलाई अघि बढाउनुपर्ने बताए । संविधान जारी गर्ने बेलासम्म भएका षड्यन्त्रलाई पनि ठूला दल मिलेर असफल पारेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान विश्वकै लोकतान्त्रिक संविधान भएकाले यसमा कुनै भेदभाव नरहेको जिकीर गरे ।

असन्तुष्ट पक्षका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भए पनि देशलाई अहित हुने माग कुनै पनि हालतमा पूरा गर्न नसकिने स्पष्ट पारे ।

ज्ञापनपत्र बुझाउँदै कांग्रेसका सांसदहरुले पुनर्निर्माणको कामलाई गति दिन, महंगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न माग गरेका छन् ।

उनीहरुले पुनर्निर्माणका लागि दाताहरुले दिएको रकमसमेत सरकारले खर्च गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भने पुनर्निर्माणको काममा सरकारले ढिलाई नगर्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।