
काठमाडौं, वैशाख १४ । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित भएको छ ।
लामो समयदेखिको आन्तरिक विवादले अन्ततः नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतबाट निलम्बनमा पारेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को दुबाईमा सम्पन्न बैठकले नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
आईसीसीले नेपाली क्रिकेटमाथि सरकारी हस्तक्षेप र नेतृत्वविहीनतालाई निलम्बनको मुख्य आधार बनाएको छ । आईसीसीको विधान अनुसार सरकारी हस्तक्षेपबाट मुक्त गर्न नसकेको तथा निष्पक्ष तथा स्वतन्त्र निर्वाचन गर्न पनि नसकेको तर्क गर्दै आईसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको हो ।
निलम्बनमा परेपछि नेपाली क्रिकेटले अब आईसीसीबाट कुनै पनि सहयोग तथा अनुदान पाउने छैन । यसअघि टंक आङ्बुहाङ नेतृत्वको क्रिकेट संघले पनि चुस्त व्यवस्थापन गर्न नसक्दा आईसीसीले दुई वर्ष अघिदेखि नै नेपाललाई दिने अनुदान सहयोग रोकेको थियो । यसरी रोकिएको अनुदान सहयोग १० करोड रुपैयाँभन्दा बढी छ ।
क्रिकेट संघ निलम्बनमा परे पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्दै आएका प्रतियोगितामा भने कुनै असर नपर्ने आईसीसीले जनाएको छ । यसको अर्थ नेपालले जारी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा बाँकी खेलहरु भने पुर्व निर्धारित मितिमै खेल्नेछ ।
नेपालमा अहिले दुईवटा क्रिकेट संघले आधिकारीकता दावी गरिरहेका छन् । चतुरबहादुर चन्द नेतृत्वको एउटा संघ साधारणसभामार्फत आएको छ भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रमेश सिलवालको नेतृत्वमा गठन गरेको अर्को संघ पनि अस्तित्वमा छ । दुईवटै संघसँग छलफल गरेको आईसीसीले भने कसैलाई पनि मान्यता नदिएको हो । विश्व क्रिकेट लिग च्याम्पियिनसिपअन्तर्गत हालै सम्पन्न नामिबिया विरुद्धको खेलको क्रममा नेपाल आएका आईसीसी विकाश निर्देशन टिम एण्डर्सनले एक साताअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेट निलम्बनमा पर्नसक्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्