
काठमाडौं, वैशाख १३ । धितोपत्र बोर्डले बोर्ड धितोपत्र बजारको विकासमा प्रतिबद्ध रहेको जनाएको छ ।
बोर्डले सोमबार पत्रकार सम्मेलन गरी आफूले गरेका कार्यहरुको समीक्षात्मक जानकारी गराएको हो ।
शेयर बजारमा संरचनागत् सुधार तथा आधुनिकीकरण गर्नेक्रममा बोर्डले दिएको निर्देशनअनुरुप गत माघदेखि शेयर फर्छ्यौट तथा राफसाफसहित पूर्णस्वचालित व्यवस्था तथा मार्केट डेप्थ हेर्नेसहित सुधारहरु भैसकेको छ ।
यसपछि पनि बोर्डले हकप्रद र बोनश शेयर लगानीकर्ताको डिम्याट खातामा, नगद लाभांश र आइपीओमा आवेदकको नपरेको पैसा निजहरुको खातामा जम्मा गर्ने व्यवस्थाका लागि निर्देशन दिइसकेको छ ।
बोर्डले आइपीओमा पनि डिम्याट अनिवार्य गर्ने निर्णय गरिसकेको छ । काठमाडौं उपत्यकामा आगामी साउनदेखि र उपत्यकाबाहिर माघदेखि आइपीओमा पनि डिम्याट अनिवार्य गरिएको हो ।
दलाल व्यवसायीलाई ४ दिनभित्र लगानीकर्तालाई रकम भुक्तानी गर्ने, नेप्सेलाई नयाँ सूचीकरण विनियमावली बनाउन निर्देशिन दिइएको पनि बोर्डले जनाएको छ ।
यसका साथै, लगानिकर्ता आइडीकार्डको व्यवस्था गर्न तथा आइपीओमा आवेदन रकम बैंकमा रोक्का राखी बैंकमार्फत् दरखास्त दिने व्यवस्था आगामी साउन महिनादेखि लागू गर्नका लागि आवश्यक कार्य अगाडि बढाइएको पनि जनाइएको छ ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बजारको सुधारकाबारे जानकारी गराउँदै यसका लागि सबै निकायको उत्तिकै सहयोग र सहभागिता आवश्यक रहेको बताए ।
नेप्सेले बजार सुधारकाबारे बोर्डका निर्देशन पालना नगरेको गुनासो पनि गरे ।
नेप्सेले अन्तर्राष्ट्रिय प्रचलनमा आएका गुणस्तरीय सफ्टवेयर खरिद प्रक्रियामा ढिलाइ गरेर सुधारमा असहयोग गरिरहेको पनि बोर्डको गुनासो छ ।
धितोपत्रको सार्वजनिक निष्कासनदेखि कारोबार हुने अवस्थासम्म करिब ६ महिनाको समय लाग्ने गरेकोमा सो अवधिलाई २ महिनामा ल्याउन आवश्यक कार्य भैरहेको पनि कार्कीले उल्लेख गरे ।
वास्तविक क्षेत्रका कम्पनीलाई पब्लिक कम्पनीमा जाने र सूचीकृत हुने वातावरण बनाउन ठोस प्याकेज ल्याउनुपर्नेमा पनि अध्यक्ष कार्कीले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्