२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


सन्चार क्षेत्रलाई उद्योगसरह मान्यता, सन्चारमाध्यमहरुको नवीकरण दस्तुर मिनाह


0
Shares

काठमाडौं, वैशाख १३ । सरकारले सूचना तथा सन्चार क्षेत्रलाई उद्योगसरह मान्यता दिने भएको छ ।

सन्चार मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा सन्चारमन्त्री शेरधन राईले मन्त्रीस्तरीय निर्णयबाट सन्चार क्षेत्रलाई उद्योगको मान्यता दिने निर्णय दिलाउन सिफारिस गरेको जानकारी दिए ।

सरकारको सिफारिसअनुसार अब उद्योग मन्त्रालयले आवश्यक ऐन निर्माणका लागि व्यवस्थापिका–संसदमा विधेयक लैजाने उनले दाबी गरे ।

मन्त्री राईले न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक लागू गराउन अब बस्ने मन्त्रिपरिषद बैठकमा आफूले प्रस्ताव लैजाने पनि बताए ।

यस्तै, गत वर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पकाक्रममा सूचना सम्प्रेषण गरी सन्चारमाध्यमले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले सन्चारगृह तथा विद्युतीय सन्चारसंस्थाहरुको चालु आर्थिक वर्षको नवीकरण दस्तुर पुरै मिनाहा गर्ने र तिर्नुपर्ने रोयल्टीमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको जानकारी मन्त्री राईले दिए ।

रोयल्टी तिरिसकेको भए आगामी वर्षको रकम दाखिलाकाक्रममा हिसाब मिलान गरिने जनाइएको छ ।