
धदिङ, वैशाख १२ । एसियन पेन्ट्सले आइतबार धादिङमा भूकम्प प्रभावित परिवारका लागि बनाएको अस्थायी घर एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
एसियन पेन्ट्सले धादिङ जिल्लाको नौबिसे गाविस वार्ड नम्बर ४ मा अवस्थित पारिगाउँका ३० परिवारका लागि ३० वटा घर बनाइदिएको हो । एसियन पेन्ट्सले सो गाउँमा अस्थायी घरका साथै शौचालय, बाटो एवं सोलार बत्तीसमेत जडान गरेको छ ।
सो अवसरमा उक्त गाउँमा बृक्षारोपण पनि गरिएको थियो । भवन निर्माण समितिका संयोजक स्थानीय रामकृष्ण राईले एसियन पेन्ट्सले गाउँमा बनाइदिएको घरले स्थानीयबासीलाई राहत मिलेको बताए ।
नौबिसे गाविस सचिव खेमबहादुर खत्रीले एसियन पेन्ट्सले गाउँमा घर र खानेपानीको व्यवस्थासँगै स्वास्थ्य एवं सरसफाईको विषयमा सुसूचितसमेत गरेको जानकारी दिए ।
गाउँमा घर बनाउन प्राविधिक सहयोग गरेको गैह्रसरकारी संस्था सिड्स इण्डियाका डाइरेक्टर मनु गुप्ताले स्थानीयबासीको उत्साहजनक सहभागिताले नै यो कार्य सम्पन्न हुन सकेको बताए ।
सो कार्यक्रममा उपस्थित प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले उक्त गाउँमा सरकारको पुनर्निर्माणको कार्य नपुगे पनि सर्भे गरिसकिएको र छिटै नै सरकारले तोकेको रकम पिडीतले पाउने दाबी गरे ।
एसियन पेन्ट्सका अध्यक्ष लक्ष्मी गोपाल श्रेष्ठले आफुहरुले भूकम्पको बेलामा समेत देशका बिभिन्न ठाउँमा पुगेर राहत वितरण गरेको जानकारी गराए । उनले पेन्ट्सले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिराख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्