२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


पाँच लाखको चिठ्ठा पर्‍यो भनि ठग्ने माओवादीका पूर्वलडाकु पक्राउ


0
Shares

काठमाडौं, वैशाख १२ । ५ लाख पाउण्डको चिठ्ठा पर्‍यो भनी ठगी गर्ने समूहका एजेन्ट जिल्ला ओखलढुंगा, दियाले गाविस वडा नं १ स्थायी वतन भएका बर्ष ३१ का अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । उनलाई राजधानीको सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार सो कार्यमा संलग्न अन्यको खोजीकार्य भइरहेको छ । पक्राउ परेका थापा नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य तथा माओवादीका पूर्वलडाकु तथा कम्पनी कमाण्डर भएको बुझिएको पनि ब्यूरोले जनाएको छ ।

कसरी भएको थियो ठगी ?

पेप्सी मोबाइल ड्र, युकेबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा बेलायतको नम्बरबाट उक्त रकम नेपाल पठाउन र सो सिलसिलामा वकिल खर्च बापत केही शुल्क लाग्छ, सो रकम हुण्डी मार्फत पठाउनु भनी बारम्बार फोन र म्यासेज गरेपछि पीडित महिलालाई हुण्डीबाट रकम पठाउन बिश्वास नलागी बैंकिङ च्यानल मार्फतमात्र पैसा पठाउने अडान लिएपछि पुन बेलायतकै नम्बरबाट फोन गरी नेपालस्थित आफ्नो एजेन्ट सुर्यज्योती इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआइ बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनी अनुरोध गरेपछि बैंकिङ च्यानलमार्फत रकम पठाउनु भनेकाले फोनमा भने बमोजिम सात लाख पच्चीस हजार आठ सय रुपैयाँ पटकपटक गरी बिभिन्न मितिमा जम्मा गरेको ब्यूरोले जनाएको छ ।

रकम जम्मा गरेपश्चात् सो खाताका खातावाल अशोक कुमार थापाले सोही बैंकको बौद्ध शाखाबाट पटकपटक गरी चेक मार्फत उक्त रकम भुक्तानी लिई ठगी गरी फरार रहेका थिए ।

के हुन्छ कारवाही ?

पक्राउ प्रतिवादी अशोक कुमार थापा उपर काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई मुलुकी ऐन, ठगीको महल अन्तर्गत अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ । कसूर ठहरिएमा पीडितलाई बिगो भराई बिगो बमोजिम जरिवाना र पाँच बर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

यसअघि ब्यूरोबाट भएको चिठ्ठा ठगी विरुद्धको कारवाही

विभिन्न व्यक्तिहरुको मोबाईलमा ठूलो धनराशीको चिठ्ठा परेको भनी एसएमएस मार्फत जानकारी गराई प्रलोभनमा पारी चिठ्ठा परेको भनिएको व्यक्तिसँग उक्त चिठ्ठामा परेको रकम प्राप्त गर्न अनेकौं बहानाहरु बनाई पटक पटक विभिन्न दरमा रकमहरु माग गरी बैंकमा रकम जम्मा गराई ठगी गर्ने गरेको आरोपमा मिति २०७०।०२।३१ गते कपन, काठमाडौंबाट सो कार्यमा संलग्न नाइजेरियन र सियरालियोन नागरिक तथा तिनीहरुका सहयोगी १ जना नेपाली महिला समेतलाई ठगी गरेको रकम रु ४ लाख १७ हजार सहित पक्राउ गर्न सफल भएको थियो ।