२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


डोको–डालो बेचेर विदेशमा भन्दा राम्रो आम्दानी(भिडियो)


0
Shares

-नवराज छतकुल्ली, ईमेज

धादिङ, बैशाख ११ । धादिङको दुर्गम रि गाउँ विकास समितिका स्थानीयले अहिले बाँस र निगालोबाट डोको, डाला र थुन्से बनाउन थालेका छन् ।

जंगलमा खेर गइरहेको बाँस र निगालो संकलन गरी बनाएको सामाग्रीबाट उनीहरुले मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् ।

कुनै बेला आफ्नो परिबार पाल्नै धौं धौं पर्ने धादिङको दुर्गम गाउं रि का बासिन्दा पछिल्लो समय निक्कै उत्साहित देखिन्छन् ।

जंगल र खोला किनारमा खेर गएका बाँसका चोया र निगालो बाट बिभिन्न सामाग्रीहरु बनाएर बिक्रि गर्न थालेसंगै उनिहरुको जीवनयापन मै परिवर्तन आएको छ ।

गाउंका बिभिन्न स्थानबाट खोजेर ल्याईएका बाँसको चोया र निगालोबाट उनिहरुले अहिले डोको, डालो र थुन्से बुनेर बिक्रि गरिरहेका हुन् । उनीहरुले घरमा नै बसी फुसर्दको समयको सदुपयोग गरी मासिक ३५ हजारसम्म आम्दानी गर्न थालेका हुन् ।

रि गाँउ विकास समितीका अधिकांस काम गर्न सक्ने युवा युवतीहरुले अहिले यही पेशा अंगालेका छन् । बिद्यालय पढ्ने उमेर समुहका बालबालिकाहरु विद्यालयबाट घर फर्के पछि र विदाको समयलाई सदुपयोग गरी उनिहरुले दैनिक पाँच, छ ओटा थुन्से बुन्ने गर्दछन् ।

उनिहरुले त्यसबाट गरेको आम्दानीले पठनपाठनका लागि विद्यालयमा लाग्ने खर्च मात्र पुर्‍याएका छैनन् घर चलाउने खर्च पनि पु¥याई मासिक बचत समेत गर्ने गरेका छन् ।