१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एमाले र एमाओवादीले कम्युनिष्टको नाममा जनतालाई ठग्ने काममात्र गरे : बाबुराम


0
Shares

रुपन्देही, वैशाख १० । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले र एकीकृत नेकपा माओवादीले कम्युनिष्ट पार्टीको आचरणविरुद्ध काम गर्दै हिँडेको आरोप लगाएका छन् ।

मधेस जागरण अभियानअन्तर्गत् शुक्रबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिँडे पनि व्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको तर्क गरे ।

नेता भट्टराईले कम्युनिष्टमा सिद्धान्त र व्यवहारमा एकरुपता हुनुपर्नेमा एमाले र एमाओवादी दुबैले कम्युनिष्टको नाममा जनतालाई ठग्ने काममात्र गरेको आरोप लगाए ।

मधेसी जनता देशभक्त र राष्ट्रवादी भएको तर्क गर्दै डा. भट्टराईले छालाको रङ र भाषालाई हेरेर अरुलाई भारतपरस्त र आफूलाईमात्र राष्ट्रवादी देख्नेले मुलुकलाई निकास नदिने धारणा राखे ।

नेता भट्टराईले भने–‘हिमाल, पहाड र तराई–मधेसका सबै जाति, भाषा, धर्म र संस्कृति सबैलाई जोड्नु नै सच्चा राष्ट्रियता हो ।’

यसैबीच, नेता भट्टराईले शुक्रबारै भैरहवाको नयाँ सडकमा नयाँ शक्ति नेपालको जिल्ला पार्टी कार्यालयको उद्घाटनसमेत गरे । रासस