
काठमाडौं, वैशाख १० । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले दक्षिणपन्थी संशोधनवादकाविरुद्ध वैचारिक संघर्ष चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनु अहिलेको ऐतिहासिक कार्यभार रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिनको जन्मदिवसका अवसरमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै उनले देशमा बढ्दै गएको हस्तक्षेप तथा सामन्तवर्गीय उत्पीडनकाविरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा देशलाई अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याइ नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको उद्देश्य हासिल गर्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र संघर्ष र १० वर्षको महान् जनयुद्धका शृंखला पार गर्दै आएको उल्लेख छ ।
अध्यक्ष वैद्यले ‘नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ६६ वर्ष पुगेको यस ऐतिहासिक अवसरमा क्रान्तिको बाँकी कार्यभार सम्पन्नगर्ने पुनः प्रतिबद्धता जाहेर गर्दछौं’–भनेका छन् । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्