१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


संविधान जारी गर्ने पक्षमा थिइनँ : पूर्वराष्ट्रपति यादव


0
Shares

काठमाडौं, वैशाख ९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू गत असोजमा संविधान जारी गर्ने पक्षमा नरहेको बताएका छन् ।

पत्रकार जगत नेपालद्वारा लिखित ‘पहिलो संसद : बीपी–महेन्द्र टकराव’ नामक पुस्तकको विहीबार राजधानीमा विमोचन गर्दै यादवले मधेस समस्या समाधन नभइ संविधान जारी गर्ने पक्षमा नभएपनि ९० प्रतिशत सभासदको हस्ताक्षर भएकाले आफू बाध्य भएको बताए ।

संविधानको कार्यान्वयन पक्ष महत्वपूर्ण भएको भन्दै उनले ‘तराई–मधेसमा देखिएको समस्या समाधान गरेर मधेस र पहाडलाई एक बनाउनु पर्छ’–भने ।

आफूले संकटको समयमा मुलुकको नेतृत्व गरेको भन्दै पूर्वराष्ट्रपति यादवले आफ्नो स्थानमा अरु कोही रहेको भए निरंकुशता फर्किसक्ने दाबी गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वसभामुख सुवासचन्द्र नेवाङले संविधान उत्कृष्ट भएको भन्दै आवश्यकताअनुसार संशोधन गर्दै यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

उनले पुस्तकले बीपी कोइराला खास राष्ट्रवादी र लोकतान्त्रिक नेता भएको कुराको पुष्टि गरेकोसमेत बताए ।

त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगाना र प्राध्यापक डा. लोकराज बरालले पुस्तकमाथि टिप्पणी गर्दै संसदीय राजनीति बुझ्नका लागि पुस्तक महत्वपूर्ण भएको बताए ।

पुस्तकमा पहिलो जननिर्वाचित संसद २०१५ का काम–कारबाही र उक्त संसद विघटनलगायतका विषय समेटिएको छ ।