
पर्सा, वैशाख ९ । संगठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ ।
संगठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुकासाथै अन्य ३५ जना प्रहरीलाई विभागीय कारबाही गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ को साउनदेखि चैतसम्मको नौ महिनामा मर्यादाविपरीत कार्य गरेको पाइएका २५ सिपाही, सात हबल्दार, दुई प्रहरी सहायक निरीक्षक र दुई प्रहरी नायब निरीक्षकलाई कारबाही गरिएको जिप्रका पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
उनले जनताको जीउधनको रक्षाका लागि खटिने सुरक्षाकर्मी चरित्रवान् हुन आवश्यक रहेकाले संगठन सुदृढीकरणको अभियानअन्तर्गत् नै पर्सामा ३६ जनालाई कारबाही गरिएको बताए ।
संगठनको मर्यादाविपरीत कार्य गरेको पाइएपछि एकजना प्रहरी नायब निरीक्षकलाई जागिरबाट बर्खास्त गरिएको छ ।
साथै, चारजनाको पदोन्नति रोक्का, २२ जनालाई नसिहत र अन्यको ग्रेड रोक्का गरिएको जिप्रका पर्साले जनाएको छ ।
अत्यन्त गम्भीर प्रकृतिको गल्ती गरेकालाई जागिरबाट हटाइएको जिप्रकाको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्