
वीरगन्ज, वैशाख ९ । वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई उपहार पठाउन थालेको छ । उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउन थालेको हो ।
वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो ।
सोही क्रममा बुधबार वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालयको मूल गेटमै नगरक्षेत्रबाट सङ्कलन गरिएको एक ट्याक्टर फोहोर थुपारेर उपमहानगरपालिकाले अभियानको सुरुवात गरेको छ ।
२०५२ सालदेखि कृषि सामाग्री कम्पनी लिमिटेडले उपमहानगरपालिकाको घरजग्गा कर र एकीकृत सम्पत्ति करबापतको रु ९१ लाख ३६ हजार ४५ बक्योता राखेको र पटक–पटक ताकेता गर्दासमेत तीर्न नमानेपछि कम्पनीको मूल गेटमा उपहार लेखिएको सूचनासहित एक ट्याक्टर फोहोर थुपारिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
मूलगेटमै फोहोर थुपारिदिएका कारण कार्यालयको काममा असर परेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।
कर तीर्न आफूले माथिल्लो निकायमा पटक पटक ताकेता गरिरहेको बताउँदै कार्कीले यसबारेमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।
वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले उपमहानगरपालिकामा रहेका ठूला करदाताले वर्षौदेखि कर नबुझाएको र पटक पटक ताकेदा गर्दा समेत अटेर गरी बसेकाले साङ्केतिक विरोधस्वरुप करदाताको गेटमा फोहोर उपहार पठाएको जानकारी दिए ।
वर्षौदेखि कर बक्यौता राखेका र दिन अटेर गरिरहेका सरकारी, गैरसरकारी, औद्योगिकघरानालाई समेत चाँडै कर नतिरे फोहोर उपहार पठाउने तयारीमा कार्यालय रहेको अधिकृत कोइरालाले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्