
काठमाडौं, वैशाख ९ । नेपाल टेलिकमको सिमबाट हुने प्रत्येक कलबापत निश्चत रकम छुट्याई त्यो रकम कल गर्ने व्यक्तिलाई सेयरस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
नेपाल टेलिकमको ‘कम्पनी सुधारको मार्गचित्र’ सार्वजनिक गर्ने क्रममा विभागीय मन्त्रीसमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकम व्यवस्थापन समक्ष यस्तो प्रस्ताव राखेका हुन् ।
टेलिकम क्षेत्रमा प्रतिश्पर्धा बढ्दै गएको भन्दै मन्त्री राईले टेलिकमलाई एक नम्बरको बनाइराख्न जनतालाई त्यसको हिस्सेदार बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।
आम जनतालाई टेलिकम आफ्नै कम्पनी हो भन्ने आभाष दिलाउन पनि यो विकल्प उपयुक्त हुने र विदेशमा समेत यस्तो अभ्यास सुरु भइसकेको उनको भनाई थियो ।
यो योजनाअनुसार टेलिकमले प्रत्येक कलमा दुई÷तीन पैसामात्र छुट्याउन सके त्यसको करिब तीन वर्षमा टेलिकमका सबै प्रयोगकर्ता सेयर होल्डर पनि बन्ने र त्यो फन्डमा जम्मा हुने रकम नेपालकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्न पर्याप्त हुने हिसाबसमेत उनले सार्वजनिक गरे ।
–राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्