
चिकित्सक टिमसँग तस्वीर खिचाउँदै जयसुखभाई (दायाँबाट तेस्रो)
चेन्नई, वैशाख ८ । ३८ वर्षीय भारतीय नागरिक जयसुखभाई ठाकेरको मुटु ४५ मिनेटसम्म बन्द हुँदा पनि उनी जीवितै छन् । यतिमात्र होइन, उनी पूर्ण स्वस्थ्य र सकुशल रहेको चिकित्सकहरुले बताएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार पोरबन्दरबाट चेन्नई एअरलिफ्ट गर्दा उनको श्वास रोकिएको थियो । उनको मुटुको अवस्था पनि निकै गम्भीर थियो । पछि उनको स्वास्थ्यमा सुधार आइरहकै थियो । तर एक हप्तापछि अचानक उनको स्वास्थ्य अवस्था बिग्रियो । चिकित्सकहरुको अथक प्रयासका बाबजुद ४५ मिनेटसम्म कार्डिएक मनिटरमा उनको मुटुको चाल शुन्य देखियो । अर्थात् ४५ मिनेटसम्म उनको मुटुमा धड्कनको कुनै चाल थिएन ।
अचम्म त यो छ कि उनलाई अस्पतालले पूर्ण स्वस्थ्य तुल्याएर डिस्चार्जसमेत गरिसकेको छ । चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार उनलाई चिकित्सकहरुले ‘ब्रेन डेड’ घोषित गरिसकेका हैदरावादका एक बिरामीको मुटु प्रत्यारोपण गरिएको हो ।
कार्डियोलोजिस्ट डा. रविकुमारका अनुसार यो अत्यन्त मुस्किल र तनावपूर्ण क्षण थियो ।
चिकित्सकहरुले जयसुखभाईको मुटुमा रहेको समस्या पत्ता लगाउँदा धेरै ढिलो भइसकेको थियो । उनको दिमाग र शरीरको बाँकी अंगमा रक्त प्रवाह कम भइसकेको थियो । अनेक प्रयासबाट उनको शरीरमा रक्त प्रवाह सामान्य अवस्थामा आए पनि त्यतिन्जेलसम्म उनी कोमा (दीर्घ बेहोसी) मा गइसकेका थिए । उनी १० दिनसम्म कोमा मै रहे । परिवारजनले पनि उनी ठिक हुनेमा आशा मारिसकेका थिए ।
उनकी पत्नी मनिषा भन्छिन्, ‘कोमामा गइसकेको मान्छे फेरि ठिक हुन्छ भन्नेमा मलाई विश्वास लागेकै थिएन, मलाई मैले आफ्नो पतिलाई गुमाइसकेँ भन्ने लागेको थियो ।’
तर भाग्यवस् नर्सले जयसुखभाई होसमा आएको खबर ल्याइन् । त्यसपछि चिकित्सकहरु उनको मुटु प्रत्यारोपणका लागि चटारिए । तर तत्काल मुटु पाउन पनि उत्तिकै ठूलो चुनौति थियो । चार दिनपछि अस्पताललाई हैदरावादमा एक ‘ब्रेन डेड’ बिरामीको मुटु उपलब्ध रहेको खबर आयो ।
समय अभावका कारण कुरियरबाटै मुटु मगाइएको चिकित्सक सुरेश रावले बताए । मुटुको सफल प्रत्यारोपणपछि उनी अहिले पूर्ण स्वस्थ्य भएका छन् । यतिमात्र होइन, उनी आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीसँग फोटो खिचाएर घरसमेत फर्किसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्