२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


तनावपूर्ण सम्बन्धका बीच अमेरिकी राष्ट्रपति साउदी अरबमा


0
Shares

रियाद, वैशाख ८ । अमेरिका र खाडी मुलुकबीच तनावपूर्ण सम्बन्धका बाबजुद अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबको भ्रमण सुरु गरेका छन् ।

भ्रमणका क्रममा ओबामाले साउदी नरेशसँग भेटवार्ता गर्नुका साथै गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) का ६ सदस्य राष्ट्रका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

भ्रमणमा अमेरिकी रक्षामन्त्री अस्टन कार्टर पनि सामेल छन् ।

साताको अन्त्यमा ओबामा बेलायत र जर्मनीको भ्रमणमा जानेछन् ।

ओबामाको अरब यात्राका क्रममा इरानको कथित अस्थिर गतिविधिको सामना गर्न अमेरिकाले अरब राष्ट्रसँग सैन्य अभियानमा सहयोग माग्ने जनाइएको छ ।

साउदी अरब इरानको प्रतिश्पर्धी मुलुक हो । पछिल्लो समय इरानमाथिको प्रतिबन्ध खुकुलो तुल्याउन अमेरिकाले भूमिका निर्वाह गरेपछि साउदी अरब र अमेरिकाबीचको सम्बन्धमा तिक्तता आएको छ ।

यस अतिरिक्त अमेरिकी संसदमा विचाराधिन एक विधेयक पनि दुई मुलुकबीच तनावको कारण बनिरहेको छ । उक्त विधेयक पारित भएमा ११ सेप्टेम्बरको हमलामा साउदी अरबलाई जिम्मेवार ठहर्‍याउँदै अमेरिकी नागरिकले उसका विरुद्ध मुद्दा दायर गर्न सक्नेछन् । (एजेन्सी)