२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कोरिया भाषा परीक्षा परिमार्जनको तयारी


0
Shares

काठमाडौं, वैशाख ७ । रोजगार अनुमति प्रणालीअन्तर्गत् इपीएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ ।

अब पढाइ सँगसँगै कामदारको सीप परीक्षण, शारीरिकस्वरुप, अन्तर्वार्ताजस्ता थप विधिलाईसमेत परीक्षाको माध्यम बनाइन लागिएको हो ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोरिया मानव संशाधन विकासअन्तर्गत् इपीएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि कामदार छनोट प्रणालीमा अंक प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।

अहिले विद्यमान रहेको सुनाइ र लेखाइ गरी २०० पूर्णांक रहेको भाषा परीक्षा प्रणाली परिमार्जन गरी नयाँ प्रणालीमा सीप परीक्षणसमेत थपिने छ ।

कोरियाले अंक प्रणालीअनुसार उत्पादनमूलक उद्योगमा भाषा परीक्षा १०० पूर्णांक र सीप परीक्षण परीक्षा १०० पूर्णांककै हुन्छ । अन्य उद्योगअन्तर्गत् कृषि, मत्स्यपालन, निर्माणलगायतमा कोरिया भाषा परीक्षा ९० र सीप परीक्षण ११० पूर्णांकको हुनेछ ।

नयाँ प्रणालीले कोरियन भाषाकोमात्रै क्षमता नभएर शारीरिक अवस्था, सीपको स्तर, कामको अनुभव आदिलाईसमेत प्राथमिकता दिइएको महानिर्देशक वुकले बताए ।

उनले सन् २०१९ बाट अहिलेको कागजी परीक्षा प्रणालीसमेत परिमार्जन गरी कम्प्युटरमा आधारित परीक्षा हुने जानकारी दिए । त्यसका लागि तीन ओटा परीक्षा भवन बनाउने तयारी भइरहेकोसमेत उनले बताए ।

आगामी असारमा सातौं भाषा परीक्षा हुने भएको छ भने नयाँ परीक्षा प्रणाली नवौं भाषा परीक्षाबाट लागू गरिने छ ।

सम्बन्धित मुलुकको गैरकानुनी कामदारको अवस्था, परीक्षा प्रणालीको शुद्धता, सरकारले गर्ने सहयोगको आधारमा सो देशको कामदारको कोटा प्रणाली थपघट हुनसक्ने उनको भनाइ थियो ।

महानिर्देशक वुकले नेपालसहित १६ देशबाट इपीएसमार्फत् कामदार ल्याइरहेको जानकारी दिँदै तीमध्ये अधिकांश मुलुकमा यसअघि नै अंक प्रणाली लागू गरिसकिएको बताए ।

परीक्षाको दरखास्त संकलन व्यवस्थित गरिने
पत्रकार सम्मेलनमा वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले यो वर्ष सातौं कोरिया भाषा परीक्षाका लागि यही वैशाख १५ देखि १८ गतेसम्मका लागि तोकिएको दरखास्त संकलन व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले दरखास्त संकलन केन्द्रमा पर्याप्त मात्रामा सुरक्षाकर्मी, पाल, स्वास्थ्यकर्मी, घुम्ती शौचालय आदिको व्यवस्था गरिने बताए ।

यो वर्ष उपत्यकाभित्र ललितपुरको च्यासलको फुटबल खेल मैदान, भ्याली उमावि महाराजगन्ज, ल्याबरोटरी उमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, नेपाल वेद विद्याश्रम संस्कृति मावि वनकालीबाट दरखास्त संकलन गरिने उनले जानकारी दिए ।

उपत्यकाबाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरामा दरखास्त संकलन केन्द्र तोकिएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् लिइने कोरियाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुँदैछ । यो वर्ष तीन हजार १०० कामदार उत्तीर्ण गरिने शाखाले जनाएको छ । रासस