११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बाबुरामले मधेसी नेतालाई भने–‘सत्ता र भत्ताको राजनीति त्याग्नोस्’


0
Shares

महोत्तरी, वैशाख ६ । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले आफ्नो हक–अधिकार प्राप्तिका लागि मधेसी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा सोमबार नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने दोहोरो चरित्रका कारण मधेस आन्दोलन उपलब्धिविहीन भएको प्रष्ट्याए ।

उनले मधेसी नेताले मधेस र मधेसीलाई अधिकारसम्पन्न बनाउन चाहन्छन् भने निःस्वार्थ भएर सदन छाडेर सडकमा आउन सुझाव दिए ।

नेता भट्टराईले लामो बन्द र हडतालका कारण मधेस आर्थिक, सामाजिक र साँस्कृतिकरुपमा निकै पछाडि परिसकेकाले अब मधेस र मधेसीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने बताए ।

उनले सम्पूर्ण मधेसवादी राजनीतिक दल र आममधेसीलाई एक ढिक्का भएर आन्दोलन गर्न र नयाँ संविधानमा संशोधन तथा नयाँ नेपाल निर्माणका लागि नयाँ शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न अपिल गरे । रासस

फाइल फोटो