
काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेसले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा आफूनिकटको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ)लाई जिताउने अभियानमा जुट्न आफ्ना केन्द्रीय सदस्य र सांसदहरुलाई निर्देशन दिएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका शिर्ष नेताहरुले यस्तो निर्देशन दिएका हुन् ।
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन बैशाख १० गते गर्ने तयारी छ । नेताहरुले आधिकारीक ट्रेड युनियनको निर्वाचनमा लोकतन्त्रवादीहरुले जसरी पनि जित्नुपर्ने भन्दै जिल्ला तहबाटै त्यसका लागि पहल गर्न सांसदहरुलाई आग्रह गरेका हन् ।
सत्तारुढ दलले कर्मचारीलाई प्रभावित गर्न सक्ने भन्दै त्यसमा सचेत बन्न नेताहरुले सांसदहरुलाई भनेका छन् ।
यद्यपि, बैशाख १० का लागि तय भएको निर्वाचन हुने÷नहुने अझै निश्चित भएको छैन । श्रम मन्त्रालयले यो निर्वाचनलाई पनि स्थगित गरेर साउन १० गते गर्ने नयाँ प्रस्ताव तयार गरेको छ ।
सो प्रस्ताव आजै बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने तयारी भइरहेको छ । कांग्रेस समर्थित नेपाल निजामति कर्मचारी युनियन संघ र एमाले समर्थित नेपाल निजामति कर्मचारी संगठन भने तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने पक्षमा छन् ।
एमाओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले भने उम्मेदवारी दर्ता नै नगराई निर्वाचन सार्ने पक्षमा उभिएको छ ।
प्रतिक्रिया दिनुहोस्