५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपालमा क्रिकेट खेलको भविष्य संकटमा पर्न सक्ने आइसीसीको चेतावनी


0
Shares

काठमाडौं, वैशाख ५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली क्रिकेटमा जारी विवादले नेपालमा यो खेलको भविष्य नै संकटमा पार्नसक्ने चेतावनी दिएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा आईसीसीका ग्लोबल डेभलपमेन्ट कार्यक्रम प्रमुख टिम एण्डर्सनले विवाद जारी रहे नेपाली क्रिकेटमाथि हस्तक्षेप गर्न आईसीसी बाध्य हुने संकेत गरेका हुन् ।

नेपालमा निर्वाचन मार्फत चुनिएको एउटा क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदबाट गठित अर्को तदर्थ समिति गरी दुईवटा अलग संघ रहेको तथ्यलाई भने आईसीसीले मान्यता दिएको छ । आज दुईवटै पक्षका पदाधिकारीहरुसँग अलग अलग छलफल गरी आईसीसीले दुईवटै संघको अस्तित्वलाई मान्यता दिएको हो ।

सामान्यतयः कुनैपनि देशको क्रिकेट संघमाथि हुने राजनीतिक हस्तक्षेपको प्रतिवाद गर्दै आएको आईसीसीले नेपालमा भने राजनीतिक हस्तक्षेप भएको सन्दर्भमा कसैले पनि आफुहरुसँग उजुरी नगरेको भन्दै पन्छिन खोजेको छ ।

यस्तो उजुरी परेको खण्डमा आईसीसीले स्वतन्त्र छानविन समिति गठन गर्ने र त्यही समितिको निर्णयअनुसार अघि बढ्ने आईसीसीको भनाई छ ।

एक अर्को प्रसंगमा आईसीसी ग्लोबल विकाश कार्यक्रमका प्रमुख एण्डर्सनले यही अप्रिल २१ तारिखमा बस्ने आईसीसी बोर्ड बैठकले नेपाली क्रिकेटको विवाद र भविष्यबारे निर्णय लिनसक्ने संकेतसमेत गरेका छन् ।

नेपाल क्रिकेट संघको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकोले निर्णय कुरेको बताउँदै एण्डर्सनले विवाद लम्ब्याईरहन भने नसकिने स्पष्ट पारे । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको खेलका लागि एण्डर्सन काठमाडौं आएका हुन् ।