
मुस्ताङ, बैशाख ५ । यस पटक चैतेदसैँका बेला कागबेनी पुगेर पितृ तर्पण र स्नान गर्ने भक्तजनको सङ्ख्या १३ वर्षयताकै उच्च मानिएको छ ।
दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ ।
चैत २५ गते औँशीदेखि दशमीसम्म देशका विभिन्न भागबाट १३ वर्षयताकै धेरै भक्तजन कागबेनी आएको कागबेनीका मुख्य पुजारी योगाप्रसाद गौतमले जानकारी दिए ।
“म यहाँ पूजापाठ गर्न लागेको १३ वर्ष भयो, चैतेदसैँमा यस्तो भक्तजन त पहिलोपटक देखेँ, सीमित पुजारीलाई काम गर्न हम्मेहम्मे भयो,” उनले भने – “देश शान्त रह्यो भने आन्तरिक पर्यटनको सम्भावना राम्रो हुन्छ ।” उनका अनुसार, एकहप्ताको बीचमा करिब ११ हजार भक्तजनले कागबेनीमा पितृ तर्पण र स्नान गरेका थिए ।
दशमीका दिनदेखि कागबेनीमा भक्तजनको चाप कम हुँदै गएको छ । अधिकांश भक्तजन बेनी–जोमसोम सडकखण्ड हुँदै जोमसोम र कागबेनी पुगेका थिए । कागबेनीमा पूजापाठ र स्नानका लागि व्यवस्थित रुपमा पदमार्ग र खुल्ला स्थानको व्यवस्था गरिएको छ ।
कागबेनीमा भक्तजन बसोबासका लागि जिल्ला विकास समिति र विभिन्न धार्मिक व्यक्तिले धर्मशालाको पनि निर्माण गरेका छन् । गतवर्ष चैतेदसैँ पर्वको आसपासमा विनाशकारी भूकम्प गएको र नाकाबन्दीका कारण दसैँ पर्वमा समेत भक्तजन कागबेनी पुग्न पाएका थिएनन् । कागबेनीका स्थानीय समाजसेवी नोर्बु गुरुङले भक्तजनको चाप अत्यधिक रहेको बताए ।
“दसैँको सोह्र श्राद्धको समयमा यस्तो भीड देखिन्थ्यो, तर सानो दसैँमा पनि यस्तो देखियो,” उनले भने– “गत वर्षतिर आउन नपाएर पनि यस्तो भीड भएको हुनसक्छ ।” धार्मिक पर्यटक बढेपछि मुस्ताङका साना तथा ठूला होटल भरिभराउ भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्