
काठमाडौं, वैशाख २ । ‘आइस’ नामले चिनिने लागूपदार्थ एम्फेटामाइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ सत्यदेवी घर भइ काठमाडौंको टोखामा बस्दै आएका नेत्र गुरुङ र चित्र गुरुङ रहेका छन् ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई गत चैत ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘गोल्डन गेट’बाट पक्राउ गरेको हो । प्रहरीले विहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
थाइल्यान्डबाट फिलिपिन्स, म्यानमार र अष्ट्रेलियामा एम्फेटामाइनको कारोबार गर्दै आएका यी दुईजना चैत २९ गते काठमाडौ आएका थिए ।
प्रहरीले उनीहरुको साथबाट करिब ९० लाख ६० हजार नेपाली रुपैयाँ बराबरको अवैध एम्फेटाइन बरामद गरेको छ ।
बच्चाको खेलौना, सुटकेसको डन्डी र क्रिमको बट्टामा लुकाएको एम्फेटामाइन उनीहरुबाट बरामद भएको प्रहरीले जनाएको छ ।
एम्फेटाइनको अवैध कारोबार गर्ने नाइकेहरु धादिङका धर्म पाख्रिन तामाङ र पूर्ण पाख्रिन तामाङ दाजुभाइ रहेको र उनीहरु थाइल्यान्डमा बस्ने गरेको पनि प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्