२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


रोनाल्डोको ह्याट्रिकसँगै रियल मड्रिड सेमिफाइनलमा


0
Shares

काठमाडौं, वैशाख १ । स्पेनिस फुटबल क्लव रियल मड्रिड र इङ्ल्यान्डको म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको दोस्रो लेगको क्वाटरफाइनल खेलमा जर्मनीको उल्फवर्गलाई ३–० ले हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको हो । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।

यसअघि उल्फवर्गको मैदानमा भएको पहिलो लेगको खेल २–० ले गुमाएको रियल मड्रिडले गएरातिको दोस्रो लेग ३–० ले जित्दै समग्रमा खेल ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराउँदै म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ । पिएसजीको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको अवस्थामा गएराति भएको दोस्रो लेगको खेल निर्णायक थियो ।

आफ्नै मैदानमा म्यानचेस्टर सिटीका केभिन डे ब्रायनले गोल गर्दै टोलीलाई ३–२ को समग्र जित दिलाउँदै सेमिफाइनलमा पुर्‍याएका हुन् ।

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका बाँकी दुई खेल आज राति हुनेछन् । आज राति एथ्लेटिको मड्रिडले बार्सिलोनासँग खेल्दा बेनीफिका र बायर्न म्युनिख भिड्नेछन् ।

पहिलो लेगको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–१ ले अग्रता लिएको छ भने बायर्न म्युनिखले बेनीफिकामाथि १–० को अग्रता लिएको छ ।