२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

वर्ष २०७२ः थोरै चलचित्र सफल, को–को चले ?


0
Shares

दीपेन्द्र सापकोटा ।
काठमाडौं, चैत ३० । ‘पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न…’, यो एउटा नेपाली चलचित्रको अति नै चर्चित गीत हो ।

गत वैशाखमा नयाँ वर्ष सुरु हुनअघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुन्जिएको थियो ।

यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश–विदेशका दर्शक र स्रोताले कैयौं नृत्यका दृश्य छायांकन गरेर यु–ट्युबमा राखे । कतिपयले त यो गीतमा नेता/नेत्री र चर्चित व्यक्तिहरु नाचेको व्यंग्यचित्र बनाए ।

अन्ततः धेरै प्रतिक्षापछि वैशाख ११ गते चलचित्र ‘रेशम फिलिली’ प्रदर्शनमा आयो र पहिलो दिन दर्शकको उत्साहजनक सहभागिता रह्यो । तर, दोस्रो दिन अर्थात् वैशाख १२ गते देशमा ठूलो भूकम्प गयो ।

भूकम्पका कारण देशको धेरै क्षेत्रमा क्षति पुग्यो । चलचित्र क्षेत्र पनि अछूतो रहेन । त्यसमा पनि धेरै क्षति त ‘रेशम फिलिली’लाई भयो । धेरै व्यापार गर्ने आश गरिएको चलचित्रको प्रदर्शन रोकियो । त्यसपछि हलमा दुई महिनाभन्दा बढी समयसम्म कुनै चलचित्र चलेनन् ।

नायक विनय श्रेष्ठले निर्माण गरेको तथा प्रणव जोशीले निर्देशन गरेको ‘रेशम फिलिली’ भदौ ५ गते पुनः प्रदर्शनमा आयो । यसले औसतभन्दा राम्रै व्यापार गर्‍यो तर ‘पिरतीको छाता ओढाउँला’ गीत जस्तै लोकप्रिय र राम्रो नभएको समीक्षा आयो ।

त्यसो त यसै वर्ष देशले भोगेका विनाशकारी भूकम्प, संविधान निर्माणसँगै भएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दी जस्ता समस्याले करिब आधा वर्ष सबै क्षेत्र ठप्प रहँदा त्यसको मार चलचित्र क्षेत्रले पनि भोग्नुपर्‍यो ।

यति हुँदाहुँदै पनि ‘रेशम फिलिली’सँगै ‘होस्टेल रिटन्र्स’, ‘भैरब’, ‘वडा नम्बर ६’, ‘परदेशी’, ‘लुटेरा’, ‘कबड्डी कबड्डी’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘ड्रिम्स’लगायत करिब एक दर्जन चलचित्र सफल भए ।

नेपाली चलचित्र उद्योगकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ भूकम्पलगायतका विविध समस्या रहेपनि केही चलचित्र सफल हुनुलाई नराम्रो संकेत मान्दिनन् ।

उनी भन्छिन्–‘भूकम्पपछि ५/६ महिना चलचित्रसम्बन्धी केही काम भएन । तरपनि यस क्षेत्रमा मिश्रित फल आयो, यो सकारात्मक हो ।’

भूकम्पपछिको कथालाई आधार बनाएर निर्माण गरिएको ‘पशुपतिप्रसाद’ र वैदेशिक रोजगारीमा जाने युवाको कथा समेटिएको ‘राहदानी’ले उत्कृष्ट कथा भएका चलचिलको दर्जा पाए ।

रंग पत्रकार विदुर गिरी यस्ता चलचित्रलाई नै अब मूलधारका चलचित्र मान्ने परिपाटीको विकास गर्नुपर्ने तर्क राख्छन् ।

उनी भन्छन्–‘यहाँ अलिकति राम्रो कथाका चलचित्र बने भने बेग्लै धार भन्ने चलन छ तर अहिले जे चलिरहेको छ, दर्शकले जे रुचाउँछन् त्यही नै मूलधार हो ।’

‘फागु द कलर्स अफ द लाइफ’, ‘बागमती’, ‘चकलेट’, ‘फूलैफूलको मौसम तिमीलाई’ जस्ता चलचित्रले धेरै प्रचार–प्रसार गरेपनि सफलता पाएनन् ।

यो वर्ष बनेका कतिपय चलचित्र कहिले आए, कहिले प्रदर्शन भए र कहिले गए भन्ने नै पत्ता भएन । त्यसैले, चलचित्र समीक्षक प्रकाश साय्मी यो वर्ष नेपाली चलचित्र बढी हल्लामा चलेको आरोप लगाउँछन् ।

उनी भन्छन्–‘यो वर्षका प्रायः चलचित्र पहिलाको तुलनामा गम्भीर विषयवस्तुका छैनन् । पुरानै धार छ, मात्र अभिनय शैलीमा थोरै फरक ल्याएको हो ।’

यो वर्ष ‘भैरब’ चलचित्रको निर्माण र निर्देशन गर्दै करिब ५ वर्षपछि फर्किएका निखिल उप्रेती सफल रहे ।

त्यस्तै, आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, र अनमोल केसी सफल नायकमा गनिए भने प्रियंका कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्मा, पूजा शर्मा जस्ता नायिकाको अभिनय मन पराइयो ।

त्यस्तै, नवप्रवेशी नायक प्रदीप खड्का, आमेश भण्डारी, पल शाह र नायिका साम्राज्ञी शाह, आँचल शर्मा, वर्षा राउतलाई सम्भावना बोकेका कलाकारको दर्जा दिइयो ।

सदाबहार नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको चर्चा भएपनि राजेशले खेलेको ‘बागमती’ र करिश्माले बनाएको ‘फागु द कलर्स अफ द लाइफ’ले दर्शकको मन जित्न सकेनन् ।

कतिपय चलचित्र सफल भएपनि नायक÷नायिका सफल भएनन् भने कतिपय चलचित्र नचलेपनि केही कलाकारले चर्चा पाए ।

चलचित्र विकास बोर्डमा यो आर्थिक वर्षको नौ महिनाको अवधिमा ९० ओटा चलचित्र दर्ता भए । त्यसमा केही चलचित्र गुरुङ, थारु र भोजपुरीजस्ता भाषाभाषीका पनि छन् ।

त्यसमध्ये हाल प्रदर्शनमा रहेको चलचित्र ‘नाइ नभन्नु ल–४’ र ‘रामप्यारी’ समेतगरी ६५ ओटा चलचित्रमात्र २०७२ सालभरमा प्रदर्शनमा आएका छन् ।

बोर्डका निर्माण अधिकृत गिरिश शर्मा पछिल्लो वर्षको तुलनामा यो वर्ष कम चलचित्र प्रदर्शन भएको बताउँछन् ।

उनी भन्छन्–‘भूकम्प, नाकाबन्दी, आन्दोलन र चलचित्र निर्माणसम्बन्धी मापदन्डका कारण यो वर्ष कम चलचित्र निर्माण भएका हुन् ।’ रासस