१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


स्ववियु निर्वाचनको मिति तीन दिनभित्र घोषणा गर्न माग


0
Shares

काठमाडौं, चैत २५ । नेपाल विद्यार्थी संघले उमेरको हदबन्दी नराखी तीन दिनभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

नेवि संघले विहीबार काठमाडौंका ४० भन्दा बढी क्याम्पसका इकाइ सभापतिको भेला गरी अघिल्लो सहमतिअनुसार निर्वाचन गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

निर्वाचनबारे यसअघि भएको सहमतिअनुसार २०७२ भित्र निर्वाचन गर्दा पहिलोपटक एक निर्वाचनमा उमेरको हदबन्दी नलाग्ने भन्ने थियो ।

तर, अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनबारे बुधबार पत्रकार सम्मेलन गरी २८ वर्ष उमेर नाघेकाले निर्वाचनमा भाग लिन नपाउने गरी निर्वाचन घोषणा गर्न त्रिविलाई आग्रह गरेको थियो ।

विद्यार्थी संगठत र त्रिविबीच भएको सहमतिअनुसार तीन दिनभित्र निर्वाचन मिति घोषणा नगरिए आफूहरु प्रत्यक्ष निर्वाचनको पक्षमा संघर्षमा उत्रने नेवि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

नेवि संघले तीन दिनभित्र निर्वाचनको मिति तोक्न माग गर्दै शुक्रबार त्रिविका पदाधिकारीलाई ज्ञापन बुझाउने र निर्वाचनको वातावरण बनाउन सबै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराउने जनाएको छ ।

तीन दिनभित्र उमेर हदबन्दी नराखी निर्वाचनको मिति घोषणा नगरिएको निर्वाचन र मुलुकमा व्याप्त कालोबजारीविरुद्ध संघर्ष गरिने प्रवक्ता लामिछानेले बताए ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि हुन सकेको छैन । रासस