
काठमाडौं, चैत २२ । निजामति प्रशानसमा अति राजनीतिकरण भएपछि त्यसको न्यूनीकरणका लागि भन्दै सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने तयारी गरेको छ ।
बैशाख १० गतेका लागि तोकिएको आधिकारीक ट्रेड युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणाली अन्तर्गत हुनेछ ।
निजामतीतर्फ आधिकारिक ट्रेड युनियनका लागि चैत्र २८ लाई तोकिएको निर्वाचन बैशाख १० का लागि सारिएको छ ।
निर्वाचनमा भाग लिन प्रमुख ट्रेड युनियनहरु तयार हुंदा हुंदै पनि मुख्य निर्वाचन अधिकृतले राजिनामा दिएपछि स्थगित गरिएकोले बैशाख १० मा पनि के हुन्छ भनेर यसै भन्न सकिन्न ।
तर नेपाली कांग्रेस समर्थित नेपाल निजामति कर्मचारी युनियन संघ र एमाले समर्थित नेपाल निजामति कर्मचारी संगठन भने बैशाख १० मा कुनै हालतमा पनि निर्वाचन हुनुपर्ने पक्षमा छन् । दुवै संगठनका अध्यक्षहरुले चुनावको मुख्य मुद्दा सुशासन, मुलुकको सम्वृद्धि र गतिशीलतालाई बनाएका छन् ।
आधिकारीक ट्रेड युनियनको निर्वाचनमा व्यक्ति नभएर संगठन चुनावी प्रतिष्पर्धामा उत्रने छन् । कार्यालय साहयकदेखी अधिकृत तह सम्मका झण्डै ५० हजार कर्मचारीले संविधानसभामा पार्टीलाई भोट हाले जसरी ट्रेड युनियन निर्वाचनमा पनि आफु निकटका ट्रेड युनियनलाई भोट हाल्नेछन् ।
केन्द्रीय स्तरमा पहिलो मत ल्याउने ट्रेड युनियनलाई अध्यक्ष र कोषध्यक्ष, दोस्रो मत ल्याउनेलाई महासचिव, तेस्रोलाई उपाध्यक्ष र चौथोलाई सचिव पद दिइनेछ ।
त्यस बाहेक बांकी रहेका १६ वटा सदस्य पदमा भोटका आधारमा प्रतिनिधित्व गराइने छ । जिल्लामा पनि पहिलो मत ल्याउने अध्यक्ष, दोस्रो उपाध्यक्ष, तेस्रो सचिव र चौथोमा सहसचिव पाउने छ ।
प्रतिक्रिया दिनुहोस्