
काठमाडौं, चैत १९ । कालोबजारी र निरन्तर बढिरहेको महंगीविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् ।
संयुक्त विद्यार्थी संगठनले शुक्रबार राजधानीमा कालोबजारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
आरआर क्याम्पसबाट सुरु भएको विरोधजुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले कालोबजारीका कारण सर्वसाधारणको दैनिकी चौपट बनेको भन्दै अब विद्यार्थीहरु मिलेर कालोबजारीहरुलाई लखेट्ने बताइन् ।
त्यस्तै, नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले कालोबजारी नियन्त्रण गरी तत्काल जनतालाई राहत दिन सरकारसँग माग गरे ।
अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले राज्यले कालोबजारी नियन्त्रण गर्न नसक्ने हो भने आफूहरु जस्तोसुकै कारबाहीमा उत्रने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्