२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाल बारको नेतृत्वमा अब को ? यस्तो छ अध्यक्षका चार उम्मेदवारको प्रतिबद्धता


0
Shares

काठमाडौं, चैत १२ । नेपाल बार एसोसिएसनको यही चैत २० गते हुने चुनावका लागि अध्यक्षका चारैजना उम्मेदवारहरुले कानुन व्यवसायीको हितका साथै पेशालाई मर्यादित बनाउने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको ‘संविधान कार्यान्वयनमा बारको भूमिका र सक्षम नेतृत्वको खोजी’ विषयक बहसमा अध्यक्षका उम्मेदवारहरुले आ–आफ्नो समूहसहित उपस्थित भएर प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्षका प्रत्यासी शेरबहादुर केसीले आफू विजयी भएमा बारलाई अझ बढी सक्रिय बनाउने बताए ।

प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले कानुन व्यवसायीले खोजेजस्तो बार बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

यस्तै, अध्यक्षका उम्मेदवार रामप्रसाद प्रजापति र मनोहर शाहले आफूहरुले राजनीतिकरणविरुद्ध व्यवसायिक हितको पक्षमा उम्मेदवारी दिएको बताए ।

नेपाल बार एसोसिएसन नयाँ नेतृत्व चयनका लागि यही चैत २० गते निर्वाचन हुँदैछ । बारको नयाँ नेतृत्व चयनका लागि ९ हजार ५ सय २२ मतदाता छन् ।

२५ सदस्यीय कार्यसमितिका लागि ७१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि देशका ३३ स्थानमा निर्वाचन केन्द्र निर्धारण गरिएको जनाइएको छ ।

चैत २० गते बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।