९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


छाया सरकार कसरी प्रभावकारी हुन सक्ला ?


0
Shares

हरिविनोद अधिकारी

संघीय संसद र प्रादेशिक सभाको निर्वाचनमा अनपेक्षित र लज्जास्पद पराजय भोगेपछि पनि नेपाली कांग्रेसमा गृह कलह चर्केकै थियो । आवधिक निर्वाचनमा प्राप्त पराजयले आगामी जितको लागि बाटो प्रशस्त गर्ने कुरा सैद्धान्तिक विषय भए पनि के र कसका कारणले अनपेक्षित हार भयो भनेर वस्तुगत समीक्षा गरिएको छैन । मनोगतरुपमै उत्तरदायी नेताहरु एकले अर्कालाई दोषारोपण गर्छन् अझै । दुई महिनामा गर्नैपर्ने भनेर विधानमा लेखिएका कामहरु अर्को महाधिवेशनका लागि दिन गन्न थाल्दा पनि  सुरु भएको पाइँदैन । यसमा पनि एकअर्काले भागबण्डा खोजेको आरोप संस्थापन पक्ष भनिने सभापति शेरबहादुर देउवा समूह र संस्थापन इतर भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भन्दै आएको सुनिन्छ ।

वैशाख २५ गतेदेखि नेपाली कांग्रेस जनजागरणमा छ र जनजागरणमा जाने प्रमुख प्रतिपक्षले पक्कै पनि सत्तासीन दल र सरकारको विपक्षमा नै जनमत तयार गर्दै होला, जुन स्वाभाविक नै मानिन्छ । यसैबीच नेपाली कांग्रेसले छाया सरकारको अवधारणालाई मूर्तरुप दिएको छ । प्रजातान्त्रिक संसदीय प्रणालीमा सरकारलाई सुमार्गमा हिँडाउन सरकारको छायाजस्तै भएर संविधानबमोजिम र राज्यका निर्देशक सिद्धान्तअनुसार सरकार हिँडेको छ छैन भनेर समीक्षा गर्ने र सरकारले प्रजातान्त्रिक बाटो छोडेर जनहितविपरीत काम गरे सरकारलाई सजग गराउने र जनतालाई त्यसबारेमा सतर्क बनाउँदै आगामी निर्वाचनमा आफ्नो पक्षमा जनमत बनाउने काम गरिन्छ । 

छाया सरकारको हल्ला धेरै पहिलेदेखि भएको थियो । २०४७ सालको वैशाखदेखि २०७४ सालको फागुन २ गतेसम्म कहिले एकल सरकार, कहिले संयुक्त सरकारका रुपमा बारम्बार सत्तासीन दल नेपाली कांग्रेसले यसअघि विपक्षमा रहँदा छाया सरकारको खासै अभ्यास गरेको थिएन । तर, छाया सरकारको काम भनेको असन्तुष्ट कार्यकर्ताहरु र नेताहरु वा सरकारमा गएझैँ आफ्ना वरिपरिकालाई पद दिने पक्कै होइन । तर अहिले त्यस्तै देखियो । सरकारभन्दा पनि जम्बो छाया सरकार बनेको देख्दा छाया सरकारको यसभन्दा पहिले अभ्यास नगरेको भन्ने झझल्को साँच्चै आयो । 

एकजना पूर्व एमाले सांसद, जसलाई मध्यमार्गी र समन्वयवादीको रुपमा चिनिन्छ, उहाँले केही समय पहिले छाया सरकारको हल्ला सुरु हुँदै शुभकामना दिनुभएको थियो नेपाली कांग्रेसलाई । के भन्नु भएको  थियो भने कांग्रेस आफ्नो सरकार भएको बेलामा आफैँले आफ्नो सरकार ढाल्न उद्यत भएर ढालेको छ, अब छाया सरकार राम्रोसँग अझै २०—२५वर्षसम्म टिकोस् । यसमा जुन राजनीतिक व्यंग्यको विम्व छ, त्यसले के देखाउँछ भने सत्तासीनहरुले यसलाई फगत ठट्टा र रमाइलोका रुपमा लिएका छन् । समसामयिक विषयमा ठाडै आफ्नो प्रतिक्रिया व्यक्त गर्न नडराउने र अब नेपालमा नेकपाको कोही पनि सशक्त विपक्षी छैन भन्ने भ्रम पालेर बस्नु भएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट पक्कै नै कुनै राम्रै व्यंग्य आउला । तर छाया सरकारले लिएको जम्बो स्वरुप र भागबन्डाको संख्याले कस्तो प्रतिक्रिया आउने हो जनजागरण अभियानमा कार्यकर्ताबाट, सायद त्यो पनि पृष्ठपोषणको रुपमा नेपाली कांग्रेसले लेला नै ।

वास्तवमा छाया सरकार त्यही बेलामा नै गठन हुनुपथ्र्यो जुनबेलामा नेकपाको सरकार बन्यो र विपक्षीलाई तह लगाउन र मनपरी ऐनहरु ल्याएर एकाधिकार कायम गर्न अनावश्यक शक्ति सञ्चयका लागि दुई तिहाईको व्यवस्था गरेको थियो । संसदीय निर्वाचनसम्म एकअर्कालाई हेर्न र आपसमा बोल्नसमेत नचाहने समूहहरु शक्ति सञ्चयका लागि संविधान संशोधनको बहानामा एकाकार भएका थिए । कतिपय यस्ता नेताहरु र दलहरु पनि सत्तापक्षसँग एकाकार भए जसलाई नेपाली कांग्रेसले निर्वाचनमा निःशर्त सहयोग गरेर जिताउन मद्दत गरेको थियो, जस्तै फोरम, राजपाका केही नेताहरु ।

छाया सरकारले सरकारका सम्पूर्ण कारबाहीलाई सूक्ष्मरुपमा हेर्नुपर्छ र तत्कालै जनतालाई जानकारी गराउन सक्नुपर्छ नीति र सिद्धान्त विपरीत काम हुने बित्तिकै । त्यो कति होला, भविष्यले मात्र बताउला ।

हालै एउटा आशालाग्दो समाचार आएको थियो, अब संघीय सांसद, प्रादेशिक सांसद, महाधिवेशन प्रतिनिधि तथा जिल्लाका नेताहरुलाई नेपाली कांग्रेसको सिद्धान्त र प्रजातान्त्रिक परिपाटीका बारेमा प्रशिक्षण दिने नीति तथा प्रशिक्षण प्रतिष्ठानले । त्यसमा स्थानीय सरकारको बारेमा र स्थानीय सरकारका प्रतिनिधिहरुलाई सुशासनका लागि पनि छाया सरकारले ध्यान दिनु पर्छ । आफ्ना दलका प्रतिनिधिहरुलाई सरकार कसरी सञ्चालन गर्ने भन्ने र अरु दलका सरकार भएका ठाउँमा कसरी कार्यक्रमको समीक्षा गर्ने र जनताका पक्षमा आवाज उठाउने भन्ने तालिम आवश्यक छ । 

छाया सरकारलाई जसरी खिसी टेउरी गरिँदैछ, त्यसबारेमा नेपाली कांग्रेस सजगमात्र भएर हुँदैन, आफ्ना जनपक्षीय कामको देखिने गरी प्रदर्शन गर्नुपर्छ । सरकारले नटेर्ला, वास्ता नगर्ला तर परिणामबाट जनतालाई सजग र सतर्क गराउन सक्दा पनि प्रतीक्षाको सरकारलाई जनमत तयार गर्न सजिलो नै होला । 

यदि आफ्नो सांगठनिक अव्यवस्था र गुट उपगुटको तुष्टिको लागि यो कृत्रिम सरकारको कल्पना गरेर भागबन्डा गरिएको हो र सरकारका कामहरुको विभागीय स्वरुपमा तत्काल प्रतिक्रिया जनाउन सकेन या जनताले विरोध गर्दासमेत थाहा नपाएजस्तो गरी छाया सरकार मौन बस्यो भने नेपाली कांग्रेसका लागि यो प्रत्युत्पादक हुनसक्छ । 

छाया सरकार दीर्घजीवी हुनुहुँदैन र जनताका समस्याहरुभन्दा बाहिर रहनु हुँदैन । एकप्रकारले भावी मन्त्रालयका लागि यो पूर्व तयारी पनि मान्न सकिन्छ । आगामी आम निर्वाचनका लागि पूर्व तयारी पनि मान्न सकिन्छ । तर यसलाई सरकारको छायाको रुपमा, सँगसँगै, वरिपरि नै घुमेको महसुस सरकारलाई हुनुपर्छ । कुनै ऐन बनाउँदा वा कुनै कार्यक्रम कार्यान्वयन गर्दा पनि सरकारलाई मसँग मेरो छाया साथै छ भन्ने भान परिरहन सक्यो भने साँच्चै जनहितमा काम हुनेछ र त्यसको यश पक्कै नै छाया सरकारले पाउने छ । अन्यथा छाया सरकारको दीर्घ जीवनको कामना गर्नेहरु सफल हुनेछन् । विज्ञेषु किमधिकम् ।