
काठमाडौं, चैत ८ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु गरिएको छ ।
इटालेली ठेकेदार कम्पनी सीएमसीसँग सुरुङको काम वि.सं २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको थियो ।
गत वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको काम सुरु नहुँदै असोज ६ गते भारतले अघोषित नाकाबन्दी गरेपछि ११ महिनासम्म काम प्रभावित भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए ।
भूकम्प र अघोषित नाकाबन्दीले रोकिएको काम फागुन दोस्रो सातादेखि आंशिक सुरु भएपनि पूर्ण रुपमा सन्चालन गर्ने गृहकार्य सुरु भएको समितिले जनाएको छ ।
‘काम पुनः सुरु भएपछि दैनिक ३० मिटर सुरुङ निर्माण भइरहेको छ, अहिलेसम्म १४ किमीभन्दा केही बढी सुरुङ खन्ने काम भएको छ, अब साढे १२ किमी सुरुङ खन्न बाँकी छ, यो समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु भएको हो’–भट्टराईले भने ।
हाल आयोजनाको सुरुङ ग्याल्थुमबाट अम्बाथान र सिन्धु, सिन्धुबाट ग्याल्थुम र सुन्दरीजल एवं सुन्दरीजलबाट सिन्धु सहायक मार्गतिर निर्माण भइरहेको छ ।
अम्बाथान सहायकमार्ग र मुहानमा काम गर्नका लागि सिएमसीले नेपाली कम्पनी मेगापेक र युनाइटेड बिल्डर्स इन्जिनियरिङलाई जिम्मा दिए पनि काम सुरु हुन सकेको छैन ।
तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि एक वर्षसम्म थप्ने गरी गृहकार्य सुरु भएको कार्यकारी निर्देशक भट्टराईले बताए ।
यही चैत दोस्रो सातासम्म समयावधि थप्ने काम सम्पन्न गरिसक्ने समितिले जनाएको छ ।
यसअघि वि.सं २०६६ मा सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ सरकारी ठेकेदार कम्पनीले काम नगरी भागेपछि सीएमसीलाई ठेक्का दिइएको थियो ।
सुरुङ निर्माणको काम वि.सं २०७३ असोज मसान्तमा सकिने भएपनि सम्झौताअघि काम सकेमा ठेकेदारलाई लाभांश दिने व्यवस्था गरिएपछि ६ महिनाअघि नै काम सक्ने सीएमसीको मौखिक प्रतिबद्धताका कारण वैशाख १ गते काठमाडौंका धारामा मेलम्चीको पानी खसाल्ने सरकारी अधिकारीले सार्वजनिक घोषणा गर्दै आएका थिए ।
अब यो घोषणा पूरा नहुने समितिको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्