१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


निकुञ्ज क्षेत्रको राजमार्गमा सिसी क्यामेरा राखिने


0
Shares

चितवन । सवारी साधनका कारण वन्यजन्तु आवतजावत गर्ने जैविक मार्ग प्रभावित बन्दै गएपछि त्यसको अनुगमनका लागि चितवनको टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा राखिने भएको छ ।

भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको चार किमी क्षेत्रमा सिसी क्यामेरा राख्ने तयारी भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको आग्रहमा नेपाली सेनाको उच्चस्तरको प्राविधिक टोलीले सो क्षेत्रको सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार २०० मिटरको फरकमा सिसी क्यामेरा राखिँदैछ । कतिपय संवेदनशील क्षेत्रमा केही नजिक क्यामरा राख्ने तयारी भएको उनले बताए । बीसदेखि ३० वटासम्म क्यामरा राख्ने तयारी गरिएको र रु १० देखि १५ लाखसम्म लागत लाग्ने अनुमान गरिएको यो कार्यका लागि विश्व वन्यजन्तु कोषले आर्थिक सहयोग गर्ने जनाएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

वन्यजन्तु आवतजावत अत्यधिक बढ्ने हुँदा हरेक महिना चाररपाँचवटा वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेको, निकुञ्ज क्षेत्रमा शौच गर्ने, फोहर फाल्ने, कुलत र आपराधिक घटना गरेर लुक्नेजस्ता समस्या बढेपछि त्यहाँ सिसी क्यामेरा जडान गर्न लागिएको उनले बताए ।

सिसी क्यामेराको मुख्य मनिटर सशस्त्र वनरक्षक तालिम केन्द्र टिकौलीमा राखिँदैछ भने यसको अनुगमन निकुञ्ज र जिल्ला वन कार्यालयले गर्नेछ जसका लागि नेपाल प्रहरीले पनि सहयोग गर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

सिसी क्यामेरा जडानसँगै सवारी साधनको गति नियन्त्रण गर्न सकिने र निकुञ्जभित्र गाडी रोक्ने समस्या हल हुने अपेक्षा गरिएको छ ।

नेपालका निकुञ्ज क्षेत्रमा सिसी क्यामरा राखेर सवारी गति अनुगमन गर्न लागिएको यो पहिलो हो । बर्दिया राष्ट्रिय निकुञ्जमा सडक लामो भएकाले गति कार्ड प्रयोग गरिँदै आएको छ । दीर्घकालीन रुपमा सडकले निकुञ्ज भागमा भूमिगत मार्ग बनाउन जरुरत रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

वर्षाद्को समयमा अन्य क्षेत्र डुबानमा परेसँगै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा सोही क्षेत्रमा आवतजावत गर्ने गर्दछ । सवारी ठक्करका कारण चित्तल, बँदेल, अजिङ्गरजस्ता वन्यजन्तु मर्ने गरेका छन् भने अन्य ठूला जनावर घाइते हुने गरेका छन् ।

हालैमात्र सरकारले नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारी क्षेत्रमा वन्यजन्तु आवतजावत गर्नका लागि दुई ठाउँमा सडकमुनि बाटो बनाउँदैछ । रासस