
काठमाडौं, चैत ५ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात् विस्तारमासमेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियतदरमा प्रदान गरिने पुनरकर्जाको उपयोग चालु आर्थिक वर्षको माग महिनासम्ममा केही घटेको छ ।
समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. १ अर्ब ७० करोड र निर्यात् पुनरकर्जा रु. १ अर्ब १२ करोड गरी जम्मा रु. २ अर्ब ८२ करोड पुनरकर्जाको उपयोग भएको राष्ट्र बैंकको तथ्यांक छ ।
अघिल्लो वर्षको यसै अवधिमा साधारणतर्फ रु. ३ अर्ब २२ करोड र निर्याततर्फ रु. १ अर्ब ५६ करोड गरी कुल रु. ४ अर्ब ७८ करोड पुनरकर्जा उपयोग भएको थियो ।
यसबाहेक भूकम्पपीडितहरुलाई राहत प्रदान गर्न राष्ट्र बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्र्तगत् माघ मसान्तसम्ममा २५ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ ।
वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था छ ।
यसमा २०७२ माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुको यस्तो कर्जा १६.१६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, घरजग्गा क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको २५ प्रतिशतको सीमाभित्र रहनुपर्ने व्यवस्था रहेकोमा २०७२ माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यस क्षेत्रमा कुल रु. २२० अर्ब ७६ करोड कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांक छ ।
उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १५.१ प्रतिशत हुन आउँछ ।
प्रतिक्रिया दिनुहोस्