
काठमाडौं, चैत ५ । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटमा न्यूजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो खेलमा आयोजक राष्ट्र भारतलाई हराएको न्यूजिल्यान्डले धर्मशालामा शुक्रबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ८ रनले पराजित गर्यो ।
१ सय ४३ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो ।
अष्ट्रेलियाले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेपनि त्यसपछि निरन्तर विकेट ढल्दा हारको सामना गर्नुपरेको हो ।
न्यूजिल्यान्डका लागि मिचेल म्याक्क्लेघानले सर्वाधिक ३ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले आक्रामक सुरुआत गरेपनि त्यसलाई निरन्तरता दिन नसकेपछि ८ विकेटको क्षतिमा १ सय ४२ रनमै समेटिएको थियो ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी भएपनि सोही लयलाई पकड्न नसक्दा न्यूजिल्यान्ड उच्च योगफल बनाउनबाट चुकेको हो ।
मार्टिन गुप्टिलले २७ बलमा ३९ तथा ग्रान्ड इलियटले २० बलमा २७ रनको योगदान दिए ।
अष्ट्रेलियाका जेम्स फल्कनर र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्