
काठमाडौं, चैत ४ । स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचौ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।
मेलाको विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको मेलामा नेपालसहित भारत, चीन, पाकिस्तान र बंगलादेशका उत्पादन राखिएका छन् ।
यसपटकको मेलामा सबैभन्दा बढी स्टल चीनको रहेको छ । चीनका ९० ओटा स्टल राखिएका छन् भने भारतका ७० ओटा विभिन्न वस्तुहरुको अवलोकनकक्ष रहेको महासंघले जनाएको छ ।
मेलाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापार मेलाले विभिन्न मुलुकसँग व्यवसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
सुदृढ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिदै उनले संविधान जारीपछि राजनीतिक संक्रमणकाल सकिएको र अब सामाजिक, आर्थिक विकासमा राज्य लाग्नुपर्ने बताइन् ।
महासंघका अध्यक्ष पशुपति मुरारकाले हाल मुलुकको अर्थतन्त्र खराब अवस्थामा रहेको भन्दै लगानीका लागि नेपाल सुरक्षित रहेको सन्देश मेलाले दिने बताए ।
उनले बाह्य मुलुकमा व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षित गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएपनि नेपालमा भने उपभोग्य मेलाबाट माथि उठ्न नसकेको बताए ।
उनले पछिल्लो समयमा मेलाको संख्या बढ्दै गएपनि प्रदर्शनीस्थलको अभाव रहेको भन्दै चोभारमा सरकारले छुट्टयाएको जग्गामा छिटो प्रदर्शनीस्थल बनाउन आग्रह गरे ।
मेलाले नेपालको उच्च व्यापारघाटा कम गराउन पनि मद्दत गर्ने विश्वास महासंघको छ । मेलामा नेपालले कृषि तथा जडीबुटीका उत्पादनलाई प्राथमिकता दिएको छ ।
८ गतेसम्म चल्ने मेलामा २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा महासंघको छ ।
प्रतिक्रिया दिनुहोस्